
काठमाडौं । मध्य भियतनाममा केही दिनदेखि परेको अविरल वर्षाका कारण कम्तिमा ४१ जनाको मृत्यु भएको छ ।
स्थानीय सञ्चारमाध्यमलाई उद्रृत गर्दै बीबीसीले जनाएअनुसार अविरल वर्षापछिको बाढी र डुबानका कारण ९ जना हराइरहेका छन् भने ५२ हजारभन्दा बढी घर डुबानमा परेका छन् । प्रभावित क्षेत्रका दशौं हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । त्यस्तै, झन्डै ५ लाख परिवार विद्युत अभावमा छन् ।
अविरल वर्षाले होइ एन र ना त्राङ सबैभन्दा धेरै प्रभावित भएको छ । त्यस्तै देशकै ठूलो कफी उत्पादन क्षेत्र मानिने डाक लाक प्रान्तमा पनि हजारौं घर डुबानमा परेका छन् । यसअघि आँधी चलेकाले यहाँका कृषकले समयमै कफी भित्र्याउन पनि सकेका थिएनन् । सडक तथा पूर्वाधारमा क्षति पुगेपछि सरकारले विभिन्न क्षेत्रमा आपतकाल घोषणा गरेर उद्धार कार्यमा टोली खटाएको छ । तीन दिनयता ५ फिटभन्दा बढी वर्षा भएको छ ।
भियतनाममा पछिल्ला केही महिनायता निरन्तर प्रकोपले ठूलो क्षति निम्त्याएको छ । केही समयअघि मात्रै केही साताको अन्तरमा यहाँ दुई शक्तिशाली आँधीले विध्वंश मच्चाएका थिए । जनवरीदेखि अक्टुबरसम्मको अवधिमा यहाँ आएका प्राकृतिक विपत्तिले झन्डै २ अर्ब डलर बराबर क्षति भइसकेको सरकारले अनुमान लगाएको छ ।