एनपीएलमा सुदूरपश्चिम रोयल्सकाे लगातार दोस्रो जित

मंसिर ५, २०८२ |खेल ब्युरो
एनपीएलमा सुदूरपश्चिम रोयल्सकाे लगातार दोस्रो जित

काठमाडौं । नेपाल सिप्रमियर लिग-एनपीएलमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हात पारेको छ । 

शुक्रबार सम्पन्न खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो । पोखराको यो लगातार दोस्रो हार हो । कमजोर बलिङ दुबै खेलमा पोखराको हारको कारण बन्यो । टियु क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९३ रनको विशाल योगफल तयार पारेको थियो ।

ओपनर जस ब्राउन र विनोद भण्डारीले सानदार सुरूवात गर्दै १ सय ८ रनको ओपनिङ साझेदारी गरेका थिए । ११औं ओभरमा जीमी निशमले पहिलो विकेट लिए । ब्राउन ६८ रनमा आउट भए । उनले ३५ बलको सामना गर्दा ६ चौका र ५ छक्का प्रहार गरेका थिए ।

क्रिस लिनले विनोदसँग २० बलमा ३४ रनको साझेदारी गरे । लिनले मात्र १३ बलमा ४ चौका र २ छक्कासहित ३१ रनको विष्फोटक इनिङ्स खेले । विनोदले ४२ बलमा ४३ रन जोडे । कप्तान दीपेन्द्र सिंह ऐरीले १५ रन, हर्मित सिंह ४ र स्कट कुगेलिनले ५ रन जोडे । आरिफ शेखले खाता खोल्न सकेनन् । अन्तिम ५ ओभरमा ३२ रन जोड्दा ५ विकेट गुमाए पछि सुदूरले २ सय रनको आकडा पार गर्न सकेनन् ।

पोखराका लागी निशमले सर्वाधिक ३ विकेट लिए । आकाश चन्द र ड्यान डाउथवेटको नाममा समान २-२ विकेट रहृयो । १ सय ९४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन मात्र बनाउन सक्यो ।

खराब सुरूवात गरेको पोखराले रोसिङ्टनलाई केबल १ रनमा गुमाएको थियो । दिनेश खरेलले पनि ६ रन मात्र बनाउन सके । किरण ठगुन्ना ९ रनमा बाहिरिएपछि पोखरा दबाबमा परेको थियो । चौथो विकेटका लागी निसम र कप्तान कुशल भुर्तेलले ४३ बलमा ७५ रनको साझेदारी गरे । निसम ४७ रनमा दिपेन्द्रको बलमा बोल्ड भए । 

कुशलले लगातार दोस्रो अर्धशतक प्रहार गर्ने क्रममा ३२ बलमा ४ चौका र ४ छक्कासहित ५३ रन जोडेपनि जितका लागि प्रयाप्त भएन । अन्त्य तिर डाउथवेटले १६ बलमा ३७ रनको आक्रमक इनिङ्स खेले पनि शीर्ष र मध्य क्रमको फितलो प्रदर्शनका कारण जित सम्भव हुन सकेन ।

सुदूरपश्चिमका लागी हर्मीत र हेमन्त धामीले समान २-२ विकेट लिए । यससंगै २ खेलमा २ जित हात पारेको सुदूरपश्चिम ४ अंक सहित लिगको शीर्ष स्थानमा उक्लिएको छ । लगातार २ खेल हारेको पोखरा अंकविहिन छ । सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा काठमाडौं गोर्खाजलाई २९ रनले हराएको थियो । भने पोखरा विराटनगरसँग ५३ रनले पराजित भएको थियो ।

एनपीएलमा भोलि कर्णाली याक्स र लुम्बिनी लायन्स तथा विराटनगर किङ्स र काठमाडौं गोर्खाज प्रतिस्पर्धा गर्ने छन् ।