२५ वर्षअघि चोरिएको अष्टमात्रृकाको तोरण पूजाआजा गरी पुन: स्थापना

मंसिर ५, २०८२ |नारायण किलम्बू
२५ वर्षअघि चोरिएको अष्टमात्रृकाको तोरण पूजाआजा गरी पुन: स्थापना

काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित कुमारीघरबाट २५ वर्षअघि चोरिएको कलात्मक अष्टमात्रृकाको मूर्तिचित्रसहितको तोरण विधिपूर्वक पूजाआजा गरी पुन: स्थापना गरिएको छ । 

तीन सय पूरानो उक्त तोरण तीन वर्षअघि बेलायको बाराकाट संग्रहालयबाट फर्काइएको थियो । बसन्तपुरको कुमारी घरबाट २०५७ सालमा कलात्मक अष्टमात्रृकाको चित्रसहितको तीन वटा तोरण चोरी भएको थियो । तर केहीवर्षपछि उक्त तोरण बेलायतको बाराकाट ग्यालरीमा रहेको पत्ता लाग्यो । 

सम्पदा अभियानकर्ता, स्थानीय निकाय र सरकारको पहलकदमी पछि २०७९ सालमा उक्त तोरण बेलायतबाट नेपाल फर्काइयो र छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखियो । सोही तोरणलाई काठमाडौं महानगर, मन्दिरका पुजारी र स्थानीयको सक्रियतामा शुक्रबार पुजाआजाका साथ र्‍यालीसहित कुमारी घरमै पुनर्स्थापना गरिएको हो ।

कुमारी घरबाटै हराएका पुरातात्विक महत्वका दुईवटा तोरण भने अझै फेला पर्न सकेका छैनन् । काठमाडौंका प्राचीन मन्दिर तथा विहारबाट मूर्ति तथा पूरातात्विक सम्पदा चोरी हुने गरे पनि पत्ता लाग्न नसक्दा धेरै समस्या हुने गरेको छ । काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका ऐतिहासिक मठ मन्दिर तथा विहारबाट चोरी भई सरकारको पहलमा विभिन्न देशबाट फिर्ता आएका १ सय ५४ वटा पुरातात्विक मूर्तिहरू राष्ट्रिय संग्रहालयमा संग्रहित छन् । 

फिर्ता आएका मूर्तिमध्ये अमेरिकाबाट १ सय १६, बेलायतको लन्डनबाट १८, भारतको कोलकाताबाट १३, अष्ट्रेलियाबाट ४, चीन, इटाली र युरोपका संकलकबाट १-१ वटा बहुमूल्य मूर्तिहरु फिर्ता भएका छन् । स्थानीय निकाय, समुदाय र सम्बन्धित मन्दिरका सरोकारवालाहरूबाट दाबीसहित त पहिचान गर्न आए सम्बन्धित मन्दिरमा फिर्ता दिइने संग्रहालयले जनाएको छ ।

प्राचीन मठ मन्दिरका सम्पदा मुलुकका पहिचान हुन् । यिनको संरक्षणका लागि ध्यान नदिँदा पटक-पटक चोरी हुने क्रम रोकिएको छैन । 


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।