तत्मा समुदायका बालिका गरिबीका कारण विद्यालय छाड्न बाध्य

असार २८, २०८२ |उपेन्द्र ठाकुर
तत्मा समुदायका बालिका गरिबीका कारण विद्यालय छाड्न बाध्य

पर्सा । शिक्षालाई सशक्तीकरण र विकासको सूचक मानिन्छ । तर गरिबी र चेतना अभावका कारण बारा फेटा गाउँपालिका–१ मा बसोवास गर्ने तत्मा समुदायका बालिकाहरूमा विद्यालयय छाड्ने प्रवृत्ति बढ्दो छ । यहाँका छोरीहरू अलिक हुर्केर सघाउन सक्ने हुने बित्तिकै अभिभावकले अर्काको घरखेतमा काम गर्न पठाएर खर्च जुटाउने गरेका छन् ।

विद्यालय जाने उमेरमा घरको चुलोचौकामा व्यस्त उहाँ हुनुहुन्छ, बारा फेटा गाउँपालिका–१ त्रिवेणीकी किशोरी नेहा दास तत्मा । हाल १६ वर्षकी नेहाले दुई कक्षामै पढाइ छोड्नुभयो । नेहाको पढाइ छुट्नुमा गरिबी मुख्य कारण भएको उहाँकी आमा बताउनुहुन्छ ।

सोही वडाकी अर्की किशोरी पूजाकुमारी दासले पनि दुई कक्षाभन्दा माथि पढ्ने अवसर पाउनुभएन । कारण उही थियो परिवारको गरिबी । दुई कक्षामै पढाइ छाडेर बाल्यकालदेखि नै चुल्होचौको सम्हाल्दै १६ वर्षपार गरिसकेकी पुजालाई पढ्न नपाएकोमा अहिले निकै पछुतो छ । परिवारले आफ्नो बिहे छिनिसकेको बताउने पूजालाई पनि गरिबी नै शिक्षाको बाधक हो भन्ने लाग्छ ।

फेटाको त्रिवेणी गाउँमा झण्डै एक सय घरधुरी तत्मा समुदायको बसोवास छ । यो समुदायका अधिकांश छोरीहरू २/४ कक्षासम्म विद्यालय गए पनि पछि बीचमै पढाइ छाड्छन् ।

तत्मा समुदायका अधिकांश विपन्न छन् । त्यसैले छोरीहरू अलिक हुर्केर सघाउनसक्ने हुनेबित्तिकै अभिभावकहरू अर्काको घरखेतमा काम गरी खर्च जुटाउन पठाउँछन् । खेतको काम पाइएन भने प्लास्टिक किनेर ल्याई घाँस बोक्ने डेली बनाउँछन् र नजिकको बजारमा बिक्री गर्छन् । आफूहरू दिनभरि काममा व्यस्त हुनेभएकाले घरको कामकाज गर्नका लागि पनि छोरीहरूको पढाइ छुटाउनुपर्ने बाध्यता अभिभावक सुनाउँछन् ।

यहाा सखी नाम गरेको महिला हितमा काम गर्ने सामाजिक संस्था छ । यसका प्रतिनिधि गरिबी मात्रै तत्मा समुदायका छोरीको पढाइमा बाधक नभएर महिलालाई हेर्ने दृष्टिकोण र चेतना अभाव पनि मुख्य कारण भएको बताउँछन् ।

बालिकाहरूमा विद्यालय छाडने दर उच्च देखिएपछि यो संस्थाले तत्मा समुदायको नेतृत्व विकासमा सहयोग गर्न रूपान्तरण कक्षा सञ्चालन गरेको छ । महिनामा एकपटक किशोरीहरूसँग बैठक बसेर बालविवाह, दाइजो प्रथाजस्ता कुरीतिसँगै महिलाहरूको विविध समस्यामा छलफल गर्दै उनीहरूलाई जीवनोपयोगी शिक्षासमेत दिनेगरेको छ ।


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।