काठमान्डु गोर्खाज र एक्सट्रिम इनर्जी ड्रिङ्कबीच सम्झौता

कार्तिक २३, २०८२ |खेल ब्युरो
काठमान्डु गोर्खाज र एक्सट्रिम इनर्जी ड्रिङ्कबीच सम्झौता

काठमाडौं । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग-एनपीएल क्रिकेटका लागि एक्सट्रिम इनर्जी ड्रिङ्कसँग प्रायोजन सम्झौता गरेको छ । 

गोर्खाजले एक्सट्रिम इनर्जीसँग ड्रिङ्क पार्टनरको रूपमा सम्झौता गरेको हो । एनपीएलमा काठमान्डु गोर्खाजका खेलाडीले जर्सीको पछाडिको भागमा एक्सट्रिम इनर्जी ड्रिङ्कको लोगो लगाएर खेल्नेछ । काठमान्डु गोर्खाज र एक्सट्रिम इनर्जी ड्रिङ्कबीच यसका लागि सम्झौता भएको छ ।  

काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र एक्सट्रिम इनर्जी ड्रिङ्कका महाप्रवन्धक पवनकुमार श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका थिए । दुबैले आर्थिक पक्ष भने खुलाएका छैनन् । गोर्खाजका कार्यकारी निर्देशक सिरोहियाले प्रायोजक बिना एनपीएल र फ्रेन्चाइज क्रिकेट अधुरो हुने जनाउँदै एक्सट्रिम इनर्जी ड्रिङ्कको साथमा आर्थिक हिसाबमा मात्र नभई सहयोग र साथका हिसाबमा पनि आफ्नो टोलीको मनोबल बढ्ने बताए । 

महाप्रवन्धक श्रेष्ठले खेलाडीलाई अतिरिक्त जोश प्रदान गर्न काठमान्डु गोर्खाज हुँदै नेपाल प्रिमियर लिगको हिस्सा हुन लागेको जनाए । काठमाडौं गोर्खाजले यसअघि नै मुख्य प्रायोजकको रूपमा वर्ल्ड लिंकसँग सम्झौता गरिसकेको छ । टोलीको गोल्ड पार्टनरको रूपमा शिखर इन्स्योरेन्स रहेको छ । साथै टोलीको अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल रहेको छ ।

करण केसीको कप्तानीमा रहेको काठमान्डु गोर्खाजमा भीम सार्की, साहव आलम, रशिद खान, आदिल आलम अन्सारी, दीपेश कँडेल, सन्तोष यादव, आकाश त्रिपाठी, प्रतिक श्रेष्ठ, तुलबहादुर थापा, उत्तम थापा रहेका छन् । टोलीले विदेशी खेलाडीमा इंग्ल्यान्डमा खेल्दै आएका रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस, उत्कृष्ट लयमा रहेका अमेरिकाका मिलिन्द कुमार र सन्नी पटेललाई लिइसकेको छ ।