सरकार र शीर्ष नेताबीच देखिएको दूरीले निर्वाचनमा जटिलता : राष्ट्रिय सभा अध्यक्ष दाहाल

कार्तिक २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकार र शीर्ष नेताबीच देखिएको दूरीले निर्वाचनमा जटिलता : राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकार र शीर्ष नेताहरूबीच देखिएको ग्यापले फागुन २१ गते तोकिएको निर्वाचन तयारीमा जटिलता थप्नसक्ने आशंका व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आइतबार बसेको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । आगामी निर्वाचनका तयारीका सन्दर्भमा सरकार र प्रमुख राजनीतिक दलहरूबीच अपेक्षित सहकार्य नदेखिएको उहाँको भनाइ छ । निर्वाचन जस्तो संवैधानिक प्रक्रियामा राजनीतिक दलहरूको सक्रियता र सहकार्य अपरिहार्य भए पनि अहिले त्यस्तो वातावरण बन्न नसकेको उहाँले बताउनु भयो । 

उहाँले २०६९ सालमा खिलराज रेग्मीको नेतृत्वमा बनेको चुनावी सरकारले निर्वाचन गराउनसक्ने अहिले किन नसक्ने भन्ने प्रश्न उठे पनि त्यो बेला र अहिले फरक परिस्थिति रहेको बताउनु भयो । त्यसबेला राजनीतिक दलहरूको सहमतिमा बनेको सरकार भएकाले निर्वाचन आयोग र सरकारलाई काम गर्न सहज भएको उहाँले स्मरण गर्नुभयो । तर अहिले मुख्य दलका नेताहरू निर्वाचनको माहाेल बनाउन त्यति संलग्न नभएको उहाँको भनाइ छ । 

अध्यक्ष दाहालले बहुदलिय व्यवस्थामा राजनीतिक दलहरूको सक्रिय सहभागिता बिना निष्पक्ष निर्वाचन सम्भव नहुने बताउँदै दल र सरकारले दायित्व पूरा गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियार र जेल ब्रेक गरेर भागेका कैदीहरू पनि निर्वाचनको लागि अर्को जटिल पक्ष भएको बताउनु भयो । 

सरकारले निर्वाचन गराउन उचित वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले निर्वाचन आयोगले भने निर्वाचनको लागि ६० प्रतिशत तयारी पूरा भएको जानकारी आफूलाई दिएको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.