ताप्लेजुङ दुर्घटना : खाल्डो छल्न खोज्दा लत्रेको तारको पासोमा परेर उजाडियो सविनाको परिवार

प्राधिकरण भन्छ, ‘चट्याङले तारको पिन फुटाएको रहेछ थाहा पाएनौं’
वैशाख ८, २०८२ |आनन्द गौतम
ताप्लेजुङ दुर्घटना : खाल्डो छल्न खोज्दा लत्रेको तारको पासोमा परेर उजाडियो सविनाको परिवार

ताप्लेजुङ । ललितपुर महानगरपालिका- १० कि सविना पौडेल आचार्य (४५ ) आफ्ना छोराछोरी र माइतीका बाआमा लिएर पाथीभरा दर्शनका लागि जाँदै थिइन् । आइतबार राति सविनासहित १६ वर्षीया छोरी आद्या, १० वर्षीय छोरा भविमय र माइतीपट्टिका बाआमा विनोद (७०) र सरिता पौडेल (६९) फुङलिङ नजिकैको होटल प्यारिजमा वास बसे ।

सविनाले होटल सञ्चालक सविन बानियाँलाई काफ्लेपाटीसम्म पुग्ने ट्याक्सी व्यवस्थापन गरिदिन आग्रह गरिन् । सविनाले फुङलिङ नगरपालिका-१० फुरुम्बुका ४२ वर्षीय दुर्गा भट्टराईलाई सम्पर्क गराइदिएपछि उनीहरू सोमबार बिहान साढे ३ बजेतिरै होटलबाट निस्किए ।

सेवारो चोक भन्ने स्थानमा पुग्दा सडकमा खाल्डाखुल्डी थियो । वर्षौंदेखि यही रूटमा गाडी कुदाइरहेका चालक भट्टराई सडकको खाल्डो छल्दै अघि बढिरहेका थिए । तर, अगाडि बिजुलीको तार लत्रेको उनले चालै पाएनन् । खाल्डोबाट जोगाउँदै अघि बढ्ने क्रममा लत्रेको तारले भेटिहाल्यो । करेन्ट लाग्नासाथ गाडीमा आगो सल्किहाल्यो । भित्र कोकोहोलो मच्चियो । धन्न सविनाका छोरा भविमय बाहिर निस्कन पाए ।

भट्टराईको पछिपछि भरतपुर महानगरपालिका- ४ चितवनबाट आएका जनार्दन भण्डारीको टोली चढेको गाडी थियो । भविमयले गाडी रोके । अगाडिको गाडीमा दनदनी आगो बलिरहेको थियो । भण्डारीले यताउता हेर्दा एक जना महिलाले हात उठाएको देखे । नजिक गएर हेर्दा ती महिला उनै सविना थिइन् । जलिरहेको गाडीभन्दा डेढ फिटजति पर थिइन् उनी । भण्डारीको टोलीले सविनाको त उद्धार गर्‍यो तर गाडीभित्र भएका चार जनालाई उद्धार गर्ने अवस्थै भएन । चार जनाको घटनास्थलमै मृत्यु भयो । सविनाका बाआमा र छोरी एउटै चिहान भए ।

भण्डारीकै टोलीले यात्रु लिएर जाँदै गरेको एउटा गाडी फर्काएर सविना र उनको छोरालाई फुङलिङस्थित अस्पतालतर्फ लगे । यति बेला भविमयको अवस्था सामान्य नै थियो भने सविना अचेत थिइन् । सदरमुकाम फुङलिङबाट बोलाएको एम्बुलेन्स सुकेटार विमानस्थल नजिक पुगेको थियो । घाइतेलाई त्यही एम्बुलेन्समा राखेर अस्पताल लगियो ।

काठमाडौंको हेम्स अस्पतालका चिकित्सक रहेका सविनाका श्रीमान्‌ले हेलिकोप्टरबाट छोरा र श्रीमतीलाई काठमाडौं लगेका छन् । जिल्ला अस्पताल ताप्लेजुङका चिकित्सकका अनुसार अहिले आमाछोरा नै खतरामुक्त छन् । सविना सामान्य हिँडडुल गर्न सक्ने अवस्थामा छिन् ।

यता नेपाल विद्युत् प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका प्रमुख सुरेशप्रसाद चौधरीले गए रातिको वर्षा र चट्याङले तारको पिन फुटाएकाले दुर्घटना भएको हुनसक्ने बताउनुभयो । “चट्याङले हुनसक्छ तारको पिन फुटाएको रहेछ”, उहाँले भन्नुभयो, “हामीले पहिल्यै थाहा पाएनौं ।”

तर यो क्षेत्रमा अन्य पोलहरू पनि ढल्किएको, अन्यत्र पनि तार लत्रिएको अवस्थामा छ ।


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।