महायज्ञ स्थलबाट हटाइएका दलित परिवार असुरक्षित, जबर्जस्ती गराइयो मञ्जुरीनामा

चैत्र ८, २०८१ |विनय आजाद
महायज्ञ स्थलबाट हटाइएका दलित परिवार असुरक्षित, जबर्जस्ती गराइयो मञ्जुरीनामा
महायज्ञ गर्न घर भत्काइएको स्थल र इन्सेटमा गाउँपालिका अध्यक्ष शिवजी यादव

सिरहा । जिल्लाको औरही गाउँपालिका-५, औरहीमा अवस्थित सामुदायिक विद्यालयको छेउमा हुलाकी राजमार्गमै तल बाँस र माथि जस्ता हालेर बनाइएको एउटा थोत्रो झुपडी छ । बुधबारसम्म सुनसान रहँदै आएको यो घरमा बिहीबार बिहानैदेखि मानिसहरुको आउजाउ बाक्लियो ।

त्यहाँ आउने कोहीले ढाँडस दिन्छन्, कसैले सोधखोज गर्छन् । तर, कोही भने धम्क्याएर जान्छन् । यही घर हो, महायज्ञका नाममा यसअघिको आफ्नै पक्की घरबाट विस्थापित गरिएका दलित समुदायका दीपक मल्लिकको ।

औरहीमा आउँदो चैत १७ गतेदेखि आयोजना हुने महायज्ञ स्थलमा रहेको जनता आवास कार्यक्रमबाट बनेको उनीहरुको घर अछुत भन्दै फागुन १० मा गाउँपालिका अध्यक्ष शिवजी यादव, बजरंगी बाबा र पूर्ववडाध्यक्ष दिलीप यादवले गाउँपालिकाकै डोजर लगाएर भत्काइदिएका थिए ।

उनीहरुमाथि भएको ज्यादतीको घटना सञ्चारमाध्यममा आएपछि पीडित परिवारलाई धाकधम्की आउन थालेको छ । घर भत्काउने काममा संलग्न व्यक्ति तथा उनीहरुको निकट व्यक्तिहरु पीडितको घरमै आएर यस विषयमा अब कतै केही नबोल्न र बोले ठीक नहुने धम्की दिने गरेका छन् ।

यो घटना बाहिरिएपछि बिहीबार विहानै दलित समुदायका दीपक मल्लिक डोमको परिवारलाई महायज्ञ स्थल छेउमै रहेको सरकारी भवनमा लगिएको थियो । गाउँपालिका अध्यक्ष शिवजी यादव, बजरंगी बाबा र पूर्ववडाध्यक्ष दिलीप यादवलगायतले उनीहरुलाई आफूहरु राजीखुशी त्यहाँबाट सरेको भिडियोमा बोल्न लगाएका छन् ।

यति मात्र होइन, आफूहरु राजीखुशी यहाँबाट सामुदायिक विद्यालयको जग्गामा सरेको लिखित मञ्जुरीनामासमेत दीपकसँग गर्न लगाइएको छ । तर, मञ्जुरीनामामा मिति भने पुरानो अर्थात् फागुन ११ गते राखिएको छ ।

मञ्जुरीनामा गाउँपालिकामा दर्ता गरिदिनका लागि गाउँपालिका अध्यक्ष यादवले नै तोक लगाउनुभएको छ । तर, त्यसमा उहाँको आधिकारिक छाप नै छैन । यस्तै, दर्ता चलानी गर्दा लगाउनुपर्ने गाउँपालिकाको छाप पनि लगाइएको छैन ।

बिहिबार नै कागज गरिएको पुष्टि गाउँपालिकाकै एक कर्मचारीले पनि गरे । ‘त्यसमा हत्तारहत्तारमा छाप लगाउन पनि छुटेको छ,’ नाम उल्लेख नगरिदिने शर्तमा ती कर्मचारीले कान्तिपुरलाई भने ।

महायज्ञ स्थल नजिकै घर भएका एक स्थानीयले पनि यो मञ्जुरीनामा फर्जी रहेको बताए । ‘यहाँका जनप्रतिनिधि र कर्मचारीले दर्ता चलानी गोजीमै लिएर हिँड्ने गर्छन्,’ नाम उल्लेख नगरिदिन आग्रह गर्दै उनले भने, ‘मञ्जुरीनामाको कुरा गाउँपालिका अध्यक्षले घटना मिडियामा आउनुअघि किन बोलेनन्, यो फर्जी हो ।’

पीडित परिवार भने यस विषयमा बोल्दा थप समस्या हुने भन्दै अब आफूहरुलाई केही नसोधिदिन आग्रह छन् । ‘यस विषयमा अब हामीलाई धेरै नसोधिदिनुस्,’ दीपककी पत्नी अनिता मल्लिकले कान्तिपुरसित भन्नुभयो, ‘हामीलाई भगाएर पठाइएको यो तेश्रो ठाउँ हो, अछुत भनेर समाजले हामीलाई भगाइरहन्छ, हामीलाई कसैले मान्छे गन्दैन, धेरै बोल्दा थप समस्या हुन्छ ।’

यस विषयमा गाउँपालिका अध्यक्ष यादवसँग बुझ्न खोज्दा उहाँसँग सम्पर्क हुन सकेन । प्रमुख प्रशासकीय अधिकृत उदित्यनारायण कर्णले भने यो आफूसँग सम्बन्धित विषय नभएकोले त्यति जानकारी नरहेको जवाफ दिनुभयो । ‘यसअघिसम्म मलाई यसको बारेमा थाहा थिएन, आज कार्यालयमा भेटायौं,’ उहाँले भन्नुभयो, ‘यसबाहेक धेरै म भन्न सक्दिनँ ।’

यो घटना सार्वजनिक भएपछि यसको चौतर्फी विरोध भइरहेको छ । बिहीबार प्रतिनिधिसभा र मधेश प्रदेशसभामा दर्जनौं सांसदले घटनाको निन्दा गर्दै यसमा संलग्नलाई अबिलम्ब पक्राउ गरी कानुनी कारवाहीको दायरमा ल्याउन माग गरेका छन् ।

यसैगरी, विभिन्न संघ–संस्थाले पनि घटनाप्रति ध्यानाकर्षण जनाउँदै यसको छानबिन गर्न माग गरेका छन् । घटना सार्वजनिक भएपछि बिहीबारदेखि मानव अधिकार आयोग, मधेश प्रदेशले पनि यसको अगुगमन तथा अनुसन्धान थालेको छ ।

घटनास्थलमा बिहीबारै सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डित पनि पुग्नुभएको थियो । तर, गाउँपालिका अध्यक्ष यादवसहित संलग्न तीनै जना सम्पर्कविहीन बनेर उनीहरुसँग भेट्न मानेनन् ।

जिल्लाका सुरक्षा निकायका प्रमुख घटनास्थल पुगे पनि यस विषयमा अहिलेसम्म कुनै कानुनी प्रक्रिया भने अगाडि बढाएको छैन । ‘हामी घटनास्थलमै गएर बुझ्यौं, थप बुझिरहेका छौं,’ पण्डितले भन्नुभयो, ‘अहिलेसम्म कुनै उजुरीहरु आएको छैन, त्यति हो ।’


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।