बाढीले टिमुरेको नामोनिसान मेटिँदा गोसाइँकुण्डको २ नम्बर वडा नै रित्तियो

१५ सय नागरिक सम्पर्कविहीन
भाद्र ३०, २०८३ |प्रकाश बम
बाढीले टिमुरेको नामोनिसान मेटिँदा गोसाइँकुण्डको २ नम्बर वडा नै रित्तियो

काठमाडौं । भदौ १० को विनाशकारी बाढीले धेरै बस्तीको नामोनिसाना नै मेटाइदियो । 

बाढीग्रस्त क्षेत्रमा पुग्दा कतिपय ठाउँमा त कुनै समय त्यहाँ गाउँ थियो, घर थिए र मानिस बस्थे भन्ने विश्वास गर्नसमेत कठिन हुन्छ । त्यस्तैमध्ये एक हो, रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर २ । टिमुरेदेखि केही तल तातोपानीदेखि रसुवागढी नाकासम्म फैलिएको यो वडाको अस्तित्व बाढीले मेटाइदिएको छ । 

अहिले त्यहाँ न घर छन्, न सरकारी संरचना, नत मानिसको चहलपहल । छन् त विनाशका अवशेषमात्र । यही बाढीले टिमुरेदेखि रसुवागढी नाकासम्मको भौतिक संरचनामात्र बगाएन, गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर २ कै पहिचान मेटाइदिएको छ । 

सुविधासम्पन्न होटल, पसल, भन्सार कार्यालयसहितका सरकारी कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका चेक पोष्टलगायत गरी २ सय ५० भन्दा बढी घर एक निमेषमै ध्वस्त बनायो । अहिले त्यहाँ बगरसिवाय केही देखिँदैन ।

बाढी गएका बेला टिमुरेमा स्थानीय, सरकारी कर्मचारी र बाहिरबाट गएका व्यापारी तथा पर्यटक गरी करिब ३५ सय मानिस हुन सक्ने रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीको अनुमान छ । जसमध्ये एक हजार त विदेशी नै थिए ।

सामान ओसापसारका लागि दैनिक करिब सातसय जनाले काम गर्थे । टिमुरेबाट अहिलेसम्म एकसय २५ वटा शव निकालिएको छ भने बढीमा सात सयको हाराहारीमा उद्वार गरिएको छ । पुरिएका शव निकाल्ने काम सुरु भएकै छैन । वडाध्यक्ष कामी छिरिङ तामाङ, वडा सदस्य कामी सेदार घले, वडा सदस्य सोनाम छिरिङ घले र दलित महिला सदस्य लक्ष्मी परियार नै बेपत्ता छन् । 

गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ र सहायक प्रमुख जिल्ला अधिकारीले दिएको तथ्यांङ्कलाई आधार मान्ने हो भने स्थानीय, पर्यटक, कामदार, प्रहरी र कर्मचारी गरी १५ सय नागरिक सम्पर्कविहीन छन् । वडा नम्बर दुईको मुख्य स्थान भनेकै टिमुरे हो । 

बगरमा परिणत भएको यस क्षेत्रमा यत्रतत्र काठ, ग्यास सिलिन्डर तथा विभिन्न सामग्री छरिएका भेटिन्छन् । करिब २५० घर रहेको बस्तीमा अहिले ६ वटा घर मात्रै क्षतविक्षत अवस्थामा उभिएका छन् । तिनै घरले यहाँ कुनै समय बस्ती थियो भन्ने प्रमाण दिइरहेका छन् ।

टिमुरेमा नेपाल राष्ट्रिय आधारभूत विद्यालयका २४ विद्यार्थी र ६ शिक्षक गरी ३० जना, सशस्त्र प्रहरी बलका ड्युटीमै रहेका ९ जना र नेपाल प्रहरीका १६ जना सम्पर्कविहीन छन् । पालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार यस क्षेत्रका करिब आठवटा बैंकका शाखा पनि बाढीले बगाएकोमा तिनका लकरचाहिँ भेटिएका छन् ।

वडा नम्बर २ मै पर्ने करिब ३० वटा घर भएको घट्टेखोलाको झन् नामोनिसाना छैन । रसुवागढीवाट करिब साढे १ किलोमिटरमा रहेको घट्टेखोलामा अध्यागमन कार्यालय, रसुवागढी जलविद्युत् आयोजना र सुविधा सम्पन्न ६ वटा होटल सबै बगर बनेका छन् । यो स्थानबाट १२ वटा शव भेटिएका छन् ।

साविकको टिमुरे गाविस पुनर्संरचनामा गएपछि गोसाइँकुण्ड गाउँपालिका वडा २ बनेको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार यो वडामा १ सय ६३ घर र जनसंख्या ५ सय ५० थियो । पछिल्लो समय कैलाश जानेहरुको बसोबास पनि त्यतै हुन्थ्यो । 

बाढी आउने दिनमा ४२ देखि ४३ बस त्यहाँ रहेको भागेर बाँचेकाहरुको भनाइ छ । त्यस्तै भन्सार जाँचपासका भएका र जाँचपास हुन बाँकी गाडी तथा कन्टेनरसमेत ध्वस्त भएका छन् । यही वडामा पर्ने खैदी भन्ने स्थानमा ६ जना मात्रै गोठाला बँच्न सफल भएका छन् ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।