विदेशको कमाइले सुकुम्वासीबाट घरजग्गाको मालिकसम्म

माघ १०, २०८१ |आनन्द गौतम
विदेशको कमाइले सुकुम्वासीबाट घरजग्गाको मालिकसम्म

ताप्लेजुङ । स्वदेशमा बसेर परिवारसँगै रमाउँदै काम गरी जीविका गर्ने रहर कसलाई हुँदैन र ? तर स्वदेशमा यस्तो अवसर नमिल्दा वैदेशिक रोजगारीमा जानु नेपाली युवाहरूको बाध्यता हो । यसरी विदेशमा आर्जन गरेको पैसाले घरपरिवारलाई सुकुम्वासीबाट आफ्नै घरजग्गाको मालिक बनाउनुभएको छ ताप्लेजुङका सञ्जय विश्वकर्माले ।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ मा एक दशकअघि बल्ल मोटरबाटो पुगेको हो । सञ्जय विश्वकर्माका बुबा जसबहादुर आरनमा फलाम पेलेर बनाएका खुकुरी, खुर्पा लगायतका औजारको बजार खोज्दै पैदलै सदरमुकाम फुङ्लिङ धाउनुहुन्थ्यो । आयअर्जनको अरू कुनै उपाय थिएन न त खेतीपाती गर्न जग्गाजमिन नै थियो । त्यसैले जसबहादुर २०५१ सालमा सदरमुकाम नजिकैको दोखुमा बसाइँ सर्नुभयो । त्यति बेला सञ्जय नौ वर्षका हुनुहुन्थ्यो ।

केही वर्ष विद्यालय धाए पनि उहाँले १३ वर्षको हुँदादेखि पढाइ चटक्कै छाडेर बुबालाई काममा सघाउन थाल्नुभयो । १८ वर्ष पुग्ने बित्तिकै नागरिकता निकालेर उहाँ वैदेशिक रोजगारीका लागि कतार जानुभयो । सयकडा तीन रुपैयाँ ब्याजमा ८० हजार ऋण काढेर कतारमा पुग्नुभएका सञ्जयले त्यहाँ घर निर्माणको जोखिमयुक्त काम गर्नुभयो ।

तीन भाइ र दुई बहिनीका अभिभावक सञ्जयले विदेश उड्नुअघि नै विवाह गर्नुभएको थियो । ४ वर्ष कतार बसेर उहाँले विवाह गर्दा र विदेश जाँदा लागेको ऋण तिरेर परिवारका सदस्यलाई एकएक कोठा हुने गरी जस्तापाताले बेरेर घर बनाउनुभयो । त्यसपछि उहाँ मलेसिया जानुभयो । मलेसिया बस्दा ८ रोपनी जग्गा जोड्न सफल हुनुभयो भने माइलो र साइँलो भाइलाई उतै बोलाउनुभयो । बहिनीहरूको विवाह गरिदिनुभयो । त्यसपछि भने उहाँले तीन जना छोराछोरी पढाउँदै आफ्नो छुट्टै घर बनाउनुभयो ।

अब त विश्वकर्मा परिवारले २८ रोपनी जग्गा जोडिसकेको छ । १६ वर्षसम्म विदेश बस्नुभएका सञ्जयको स्वदेशमै बसेर केही गर्ने सोच नभएको होइन । तर यता हात हालेका काममा प्रगति नभएछि अहिले पनि मलेसिया धाइरहनुभएको छ । यही माघ ४ गते भएको छोरीको विवाहका लागि नेपाल आउनुभएका सञ्जय चाँडै मलेसिया फर्कनु हुनेछ ।

अबको कमाइले तराईमा घरजग्गा जोडेर नातिनातिनालाई सुविधायुक्त स्कुलमा पढाउने उहाँको धोको छ । परिवारलाई सुकुम्वासी जीवनबाट मुक्त बनाउनुभएका सञ्जय आफूले विदेशमा चुहाएको पसिनाको मोलसँग सन्तुष्ट हुनुहुन्छ । 


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement