१३ वर्ष विदेश बसेर ४ करोडभन्दा बढीको मालिक बन्नुभएका मोतीबहादुर

माघ १७, २०८१ |नवराज श्रेष्ठ
१३ वर्ष विदेश बसेर ४ करोडभन्दा बढीको मालिक बन्नुभएका मोतीबहादुर

रामेछाप । रामेछापका मोतीबहादुर आले मगरले ७ कक्षा पढ्दापढ्दै कलिलै उमेरमा विवाह गर्नुभयो । बिहेपछि उहाँको पढाइ छुट्यो ।

दुई छोरी र दुई छोरा जन्मिए, परिवार बढेपछि काँधमा जिम्मेवारी पनि थपियो । गाउँमै जे भेटिन्छ त्यही काम गर्नुभयो । तर गाउँको कमाइले परिवार चलाउन सहज भएन । २०५८ सालमा सय कडा पाँचमा ऋण काढेर उहाँ मलेसिया जानुभयो ।

रामेछाप नगरपालिका-६ ओख्रेनीका मोतीबहादुर आलेमगर वैदेशिक रोजगारीका सिलसिलामा करिब १३ वर्ष विदेश बस्नुभयो । उहाँले ३ वर्ष मलेसिया र १० वर्ष संयुक्त अरब इमिरेट्सको दुबईमा काम गर्नुभयो । ३ वर्ष मलेसिया बसेर कमाएको पैसाले घरपरिवार चलाउँदै गरेर पनि १८ लाख बचत भयो । सो बचतले मोतीबहादुरले सदरमुकाम मन्थलीमा घडेरी किन्नुभयो । त्यसपछि ७ वर्ष गाउँमै परिवारसँग बस्नुभयो ।

तर फेरि उहाँलाई खर्च अभावले सताउन थाल्यो । फेरि ०६९ सालमा वैदेशिक रोजगारीमै दुबई जानुभयो । दुबईमा उहाँले कम्प्युटरका पार्ट्स बनाउने कम्पनीमा १० वर्ष काम गर्नुभयो । दुबई बसाइ उहाँका लागि वरदान सावित भयो । उहाँले मासिकरूपमा पठाउने पैसा यता श्रीमती आइतीमायाले राम्रोसँग बचत गर्दै जानुभयो । त्यो पैसाले सदरमुकाम मन्थलीमा एउटा तीन तले पक्की घर र ट्रस्ट हालेर अर्को घर बन्यो । ०७९ सालमा दुबईबाट फर्किएपछि मोतीबहादुर एक सय वर्ष पुग्नै लागेका वयोवृद्ध पिताको हेरविचार गर्दै स्वदेशमै बसिरहनुभएको छ । वैदेशिक रोजगारीको १३ वर्षमा मोतीबहादुर ४ करोड रुपैयाँभन्दा बढीको मालिक बन्नुभएको छ ।

“१० वर्षमा राम्रै कमाइ थियो र त्यही अनुसार परिवारले पनि राम्रो बचत गरिदिए”, मोतीबहादुरले भन्नुभयो ।

मोतीबहादुरले विदेशमा दुःख गरिरहँदा उहाँकी जीवनसाथी आइतीमायाले पनि यता आफूले सक्दो मिहिनेत गरेर घरखर्च चलाउँदै रेमिट्यान्सबाट आएको पैसा जोगाउनुभयो । लामो संघर्षपछि प्राप्त घरमा भित्रिएको सुख र समृद्धिलाई आइतीमाया चौतारीको वरपीपलको आनन्दसँग तुलना गर्नुहुन्छ । “अहिले सुखी, शान्त, आनन्द, खुशी बनाएर राख्नुभएको छ मेरो बुढोले । मैले पनि बुढोले कमाएको सम्पत्ति पछिका लागि, छोराछोरीका लागि, बुढ्यौली भएको अवस्थामा खानुपर्छ भनेर सोचें”, मोतीबहादुरकी श्रीमती आइतीमाया मगरले भन्नुभयो ।

मन्थलीका दुइटा घरमध्ये तीन तले पक्कीघर मोतीबहादुरले भाडामा लगाउनुभएको छ । ट्रस्टको घरको एउटा सटरमा कान्छा छोरा बलराजले मोटरसाइकल वर्कसप चलाउनुभएको छ । बाँकी सटर भाडामै छन् । बुवाले १३ वर्ष विदेशमा बगाएको पसिनाले आएको पारिवारिक खुशीलाई बलराज यसरी व्यक्त गर्नुहुन्छ- “बुवाले विदेशकै सम्पत्तिबाट जोड्नुभएको घर हो, जग्गा हो । हामीले अहिले भाडा तिर्नुपर्दैन । बुवाकै हो ।”

विदेशमा दुःखले कमाएको पैसा सही ठाउँमा प्रयोग गरी परिवारमा समृद्धि भित्र्याउने मोतीबहादुर उदाहरणीय पात्र हुनुहुन्छ । उहाँ जस्ता धेरै मोतीबहादुरहरूले विदेशमा कमाएको रेमिट्यान्सले परिवारमा ल्याएको खुशी रामेछापका टोलटोलमा भेट्न सकिन्छ ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका राेछाप संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement