भक्तपुर । जीवन सबैको उस्तै कहाँ हुन्छ र ? अझ शारीरिक रूपमा असक्त भएर जीवनयापन गर्न त सकसपूर्ण हुन्छ । यस्तै परिस्थितिबाट गुज्रिरहेका छन् भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित सानोठिमी क्याम्पस पछाडि बसोवास गर्ने दृष्टिविहीन १५ घरपरिवार ।
दिनहुँ पसल-पसल चहार्दै अगरबत्ती बेचेर गुजारा गर्ने उनीहरूलाई त्यही अगरबत्ती समेत कसैले नकिन्दा घर खर्च चलाउनै मुस्किल छ ।
३ महिनाअघि नेपालगञ्जबाट काठमाडौ आएका ३५ वर्षीय रामकृष्ण साउद दृष्टिविहीन हुनुहुन्छ । दुवै खुट्टा नचल्ने उहाँकी श्रीमती पनि ह्विलचेयरको सहारामा हिँडडुल गर्नुहुन्छ । एक वर्षअघि बिहे गरेको यो जोडीको भर्खरै छोरी जन्मिएकी छन् । आमा र बच्चाको स्याहारसुसारका लागि आवश्यक खर्च जुटाउन रामकृष्ण दिनहुँ अगरबत्ती बोकेर पसल-पसल धाउनुहुन्छ तर अगरबत्ती नबिक्दा उहाँको चिन्ता बढेको छ । सरकारले दिने मासिक दुई हजार भत्ताले चामल किन्ने कि कोठा भाडा तिर्ने भन्ने समस्या छ ।
३० वर्षीय विमल विकको पनि अवस्था रामकृष्णको भन्दा फरक छैन । श्रीमान्-श्रीमती नै दृष्टिविहीन अझ दुई जना ससाना सन्तान । अगबत्ती बेचेर सन्तानको पालनपोषणको खर्च जुटाउँदै आएको यो जोडीलाई पनि अहिले साह्रै सकस छ । पहिले दैनिक ७ सयसम्म कमाइ हुने अगरबत्तीको व्यापार खस्केर अहिले २ सय रुपैयाँ पनि मुस्किले हुने गरेको उहाँ बताउनुहुन्छ । दिनभर बजार डुल्दा थाकेर कोठा पुग्दा, राम्ररी पढ्न नपाउँदा उहाँको स्नातक अध्ययन अलपत्र छ ।
रामकृष्ण र विमलरूसँगै बस्ने र अगरबत्ती बेचेर गुजारा गर्ने सबै दृष्टिविहीनहरूको यो साझा समस्या हो ।
सानोठिमीमा किनारा पसल चलाउनु हुने विनोद पराजुली ६ देखि ८ जनासम्म अगरबत्ती बेच्न दिनहुँ आउने हुँदा सबैको अगरबत्ती किनेर साध्य नलाग्ने बताउनुहुन्छ ।
यसैबीच स्थानीय सरकारले अपांगता भएकाहरूलाई लक्षित गरी आयमूलक तालिम सञ्चालन गर्ने बताएको छ । सरकारले दृष्टिविहिन तथा शारीरिक असक्तता भएकाहरूलाई विशेष तालिम दिई उनीहरूको रोजिरोटीको सुनिश्चितता गर्नुपर्ने हो । सामाजिक सुरक्षा बापत सीमित लाभ पाए पनि दृष्टिविहीन तथा शारीरिक अपांगता भएकाहरूले मूल प्रवाहमा आउन अझै कति समय कुर्न पर्ने हो ?