एट्लेटिको मड्रिडसँगको हारबाट बार्सिलोनाले पाठ सिक्नुपर्छ : प्रशिक्षक हान्जी फ्लिक

फाल्गुन १३, २०८१ |खेल ब्युरो
एट्लेटिको मड्रिडसँगको हारबाट बार्सिलोनाले पाठ सिक्नुपर्छ : प्रशिक्षक हान्जी फ्लिक

काठमाडौं । बार्सिलोनाका प्रशिक्षक हान्जी फ्लिकले स्पेनिस लिग ला-लिगाको जारी सिजन एट्लेटिको मड्रिडसँग बेहोरेको हारबाट आफ्नो टिमले पाठ सिक्नुपर्ने बताएका छन् ।

कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगअघि भएको प्रेस कन्फरेन्समा बोल्दै फ्लिकले खेलाडीलाई सचेत गराएका हुन् । गत डिसेम्बरमा एट्लेटिकोले बार्सालाई २-१ गोलले पराजित गरेको थियो । जुन डिएगो सिमोयानीको टिमका लागि १८ वर्षमा बार्साविरुद्धको पहिलो अवे जित थियो ।

प्रशिक्षक फ्लिकले लमिन यामल एट्लेटिकोविरुद्ध उपलब्ध हुने विश्वास गरेका छन् । गत शनिबार लास पाल्माससँग भएको खेलका क्रममा १७ वर्षीय विङ्गर घाइते भएका थिए । फ्लिकले काल्फ इन्जुरीबाट मुक्त भएका मिडफिल्डर ड्यानी ओल्मोले पनि ९० मिनेट खेल्न सक्ने जानकारी दिएका छन् ।

हिजो आफ्नो ६०औँ जन्मदिन मनाएका फ्लिकले आफ्नो उमेरलाई लिएर पनि खुसी महसुस भइरहेको प्रतिक्रिया दिएका थिए । यता एट्लेटिकोका प्रशिक्षक सिमोयानीले एक पटकमा एक खेलको बारेमा मात्र केन्द्रित भएको बताए । एट्लेटिको च्याम्पियन्स लिगको अन्तिम १६ को प्रतिस्पर्धाको तयारीमा पनि छ ।

नकआउटमा एट्लेटिकोले सहरी प्रतिद्वन्द्वी रियाल मड्रिड पाएको छ । ला लिगामा बार्सा शीर्ष र एट्लेटिको तेस्रो स्थानमा छ । यी दुईबीच एक अंकको फरक छ ।



Enter Kantipur TV HD
Advertisement