दुबई टेनिस च्याम्पियनसिपमा ग्रिक खेलाडी स्टेफानोस चिचिपासको विजयी सुरुवात

फाल्गुन १३, २०८१ |खेल ब्युरो
दुबई टेनिस च्याम्पियनसिपमा ग्रिक खेलाडी स्टेफानोस चिचिपासको विजयी सुरुवात

काठमाडौं । ग्रिक खेलाडी स्टेफानोस चिचिपासले दुबई टेनिस च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् ।

चिचिपासले इटालीका लोरेन्जो सेनोगोमाथि सोझो सेटमा जित हात पारेका हुन् । पाँच वर्षपछि हार्ट कोर्ट इभेन्टमा फर्किएका चिचिपासका लागि पहिलो सेट सहज भएन । यो सेट टाइब्रेकरमा पुगेको थियो । तर विश्व वरियताको एघारौँ स्थानमा रहेका चिचिपासले ७-६ ले सेट आफ्नो पक्षमा पारे ।

दोस्रो सेट चिचिपासले ६-३ ले जिते । खेलपछि चिचिपासले पहिलो सेट कठिन भएको प्रतिक्रिया दिए । उनी सिजनको पहिलो उपाधि जित्ने लक्ष्यमा छन् । यसअघि चिचिपास सन् २०१९ र २०२० मा च्याम्पियनसिपको फाइनल पुगेका थिए । अब उनले रुसका करेन काचानोभसँग प्रतिस्पर्धा गर्नेछन् ।

काचानोभले, वाइल्ड कार्डमार्फत् प्रवेश पाएका ब्रिटिस खेलाडी ड्यान इभान्सलाई सोझो सेटमा हराएका हुन् । उनले पहिलो सेट सहजै ६-१ ले जितेका थिए । दोस्रो सेट ६-३ ले आफ्नो पक्षमा पार्दै काचानोभले अघिल्लो चरणमा स्थान सुरक्षित गरे । काचानोभले यसअघि इभान्ससँग पाँच भेटमा हार बेहोरेका थिए ।

अन्य खेलमा फ्रान्सका जिभानी पेट्सी पेरिकोले चीनका झाङ झियाङलाइ ६-३ र ७-६ को सेटमा हराए । स्पेनका रोबर्टो बाउटिस्टा अगुट र बेल्जियन जिजु बेगजले पनि आ-आफ्नो खेलमा जित हात पारे ।



Enter Kantipur TV HD
Advertisement