दुई सय कर्मचारी कटौती गर्ने तयारीमा म्यानचेस्टर युनाइटेड

फाल्गुन १३, २०८१ |खेल ब्युरो
दुई सय कर्मचारी कटौती गर्ने तयारीमा म्यानचेस्टर युनाइटेड

काठमाडौं । इङलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले एक सय ५० देखी दुई सय कर्मचारी कटौती गर्ने तयारी गरेको छ ।

पछिल्लो पाँच वर्षमा क्लब घाटामा गएको र यसबाट माथि उठ्नका लागि कर्मचारी कटौती गर्ने निर्णय गरेको क्लबले जनाएको छ । यो गत वर्ष निकालिएका दुई सय ५० कर्मचारी बाहेकको हो ।

अघिल्लो वर्ष बेलायती अर्बपति जिम र्याट्क्लिफले २५ प्रतिशत हिस्सा लिएपछि क्लब पुनर्निर्माणको क्रममा छ । जस अन्तर्गत कर्मचारी कटौती पनि मुख्य हो । गत सेप्टेम्बरमा २० पटकको प्रिमियर लिग च्याम्पियन युनाइटेडले लगातार पाँचौ वर्ष घाटामा गएको घोषणा गरेको थियो ।

युरोपियन प्रतिस्पर्धामा छनौट हुन नसक्नुले पनि युनाइटेडलाई आर्थिक नोक्सानी भएको हो । युनाइटेडका सिइओ ओमार बेरार्डाले लगातार पाँच वर्षसम्म नाफा कमाउन नसकेको र यसले अब निरन्तरता पाउन नसक्ने विज्ञप्तीमा उल्लेख गरेका छन् ।

पुनर्निर्माण योजनामा क्लबले, ओल्ट ट्राफोर्डको क्यान्टिनमा दिँदै आएको निशुल्क खानाको ब्यवस्था पनि हटाउने छ । यो व्यवस्था हटाउदा क्लबको एक वर्षमा एक मिलियन पाउन्ड बचत हुनेछ ।

म्यानचेस्टर युनाइटेड फाउन्डेसनले समाजीक कार्यमा दिँदै आएको चन्दामा पनि रोक लगाएको छ । युनाइटेडले गत सिजन तालिकाको आँठौ स्थानमा रहेको लिग टुंग्याएको थियो । जारी सिजन १५ औं स्थानमा छ ।



Enter Kantipur TV HD
Advertisement