उपमहानगरकै मुसहर बस्तीमा छैन बिजुली

माघ १८, २०८१ |रमेश ठाकुर
उपमहानगरकै मुसहर बस्तीमा छैन बिजुली

बारा । कलैया उपमहानगरपालिका-१ मा रहेको मुसहर बस्तीका स्थानीय अहिले पनि टुकी र मैनबत्ती बालेर रातको अँध्यारो चिर्ने प्रयास गर्छन् । कलैयामा जिल्लाकै सम्पूर्ण निकायको उपस्थिति रहे पनि यस बस्तीमा उज्यालो पुर्‍याउने प्रयास कसैले गरेको देखिँदैन ।

बिजुली नहुँदा सूर्य अस्ताउनुअघि नै खाना बनाएर खानुपर्ने बाध्यता उनीहरू बताउँछन् । “न हामीसँग बत्ती छ, न हाम्रो व्यवस्थापन राम्रो छ । सडक पेटीमा बसोवास छ । जुन बेला पनि हाम्रो उठिबास लगाउन सक्छ । हामीलाई सरकारले उचित ठाउँमा वासस्थान दियो भने खुशीले बस्थ्यौं”, मोतीबाग कलैयाकी बिल्टी मुसहरिनले बताउनुभयो ।

यो बस्तीमा ९ घरधुरीमा ११ परिवार बस्छन् । विद्युत् सुविधा नहुँदा यस बस्तीका बासिन्दाले मोबाइल चार्ज गर्न समेत अरूको घरमा १० रुपैयाँ तिरेर चार्ज गर्नुपर्छ ।

बिजुली नभएकै कारण यस बस्तीका बालबालिकाले राति लेखपढ गर्न पाउँदैनन् । नेताहरूले पनि लामो समयदेखि ऐलानी जग्गामा बसोवास गर्दै आएका मुसहर समुदायलाई चुनावका बेला मात्रै सम्झिने गरेका छन् । “यो बस्तीमा बिजुली ल्याउन कसैले वास्ता गर्दैनन् । बच्चाहरू रातमा मैनबत्ती बालेर पढ्छन् । जनप्रतिनिधिहरूलाई भनेर थाकिसक्यौं“, स्थानीय जयकली मुसहरिनले बताउनुभयो ।

यता स्थानीय तहका जनप्रतिनिधिले भने समस्याबारे आफूहरूलाई अहिलेसम्म थाहै नभएको तर अब चाँडै समाधानमा लाग्ने दाबी गर्छन् । “चार पुस्तादेखि उहाँहरू बस्दै आउनुभएको छ । उहाँहरूले अहिलेसम्म विद्युत् नपाएको जानकारी पाएका छौं । त्यही भएर हामी उहाँहरूलाई नियमपूर्वक के गर्न सकिन्छ, विद्युत् कार्यालयसँग कुराकानी गर्नेछौं र उहाँहरूलाई हामी व्यवस्थापन गर्नेछौं”, कलैया-१ का वडा सदस्य शशी दासले बताउनुभयो ।

गरिबीका कारण यो बस्तीका अभिभावकले आफ्ना बालबालिकालाई उचित शिक्षादीक्षा पनि दिन सकेका छैनन् । गाँस, वास, कपाससँग संघर्ष गरिरहेका यो बस्तीका मुसहर समुदायलाई कुनै पनि सरकारी, गैरसरकारी योजनाहरूले छुन सकेको देखिँदैन ।


Image

रमेश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका बारा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement