काठमाडौं । न्यूजिल्यान्ड र भारत समूह ‘ए’ बाट आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनल प्रवेश गरेका छन् ।
न्यूजिल्यान्डले बंगलादेशमाथि पाँच विकेटको जित हात पारेपछि साविक विजेता पाकिस्तान भने बाहिरियो । बंगलादेशको यात्रा पनि समूह चरणबाटै समाप्त भयो ।
न्यूजिल्यान्डको जितमा रचिन रविन्द्रले शतकीय इनिङ्स खेलेका थिए । पाकिस्तानस्थित रावलपिन्डी स्टेडियममा न्यूजिल्यान्डले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेको थियो ।
बंगलादेशले ५० ओभरमा नौ विकेट गुमाएर २ सय ३६ रन बनाएको थियो । ओपनर तान्जिद हसन २४ र मेहेदी हसन मिराज १३ रनमा आउट भएका थिए । मध्यक्रमका तीन ब्याटरले दोहोरो रन बनाउन सकेनन् । तोहिद रिदोय ७, मुश्फिकर रहिम २ र महमुदुल्लाह ४ रनमा पभेलियन फर्किए । कप्तान नाज्मुल हुसेन सान्टोले सर्वाधिक ७७ रन बनाएपछि बंगलादेशले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो । जाकर अलीले ४५ रन जोडे । रिसाद हुसेनले २६ र तास्किन अहमदले १० रन बनाए । माइकल ब्रेसवेलले चार विकेट लिए ।
जवाफमा न्यूजिल्यान्डले २३ बल बाँकी रहँदा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । न्यूजिल्यान्डले खराब सुरुवात गरेको थियो । ओपनर विल योङले खाता खोल्न सकेनन् । केन विलियम्सन पनि ५ रनमा मैदान बाहिरिए । डेभोन कन्वेले ३० रन जोडे । तर तेस्रो विकेटका लागि टम लाथम र रचिनले एक सय २९ रनको साझेदारी गर्दै न्यूजिल्यान्डलाइ जित दिलाए ।
च्याम्पियन्स ट्रफीमा डेब्यु गरेका रचिनले पाकिस्तानसँगको पहिलो खेल गुमाएका थिए । रचिनले १ सय ५ बलमा १ सय १२ रन बनाए । उनले १२ चौका र एक छक्का प्रहार गरे । लाथमले ५५ रनको योगदान गरे । ग्लेन फिलिप्स २१ र माइकल ब्रेसवेल ११ रनमा अविजित रहे । न्यूजिल्यान्ड र भारत एक खेल अगावै सेमिफाइनल पुगेका हुन् । समूहको अन्तिम खेलमा यी दुई टिमबीच प्रतिस्पर्धा हुनेछ ।
यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । जितविहीन आयोजक पाकिस्तान र बंगलादेश प्रतियोगिताबाट बाहिरिए । प्रतियोगितामा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ ।