अल्पसंख्यक आठपहरिया राई समुदायमा मंसिरे चाडको रमझम

मंसिर १, २०८१ |विनोद घिमिरे
अल्पसंख्यक आठपहरिया राई समुदायमा मंसिरे चाडको रमझम

धनकुटा । अल्पसंख्यक आठपहरियाहरुको समुदायमा मंसिरे चाडको रमझम सुरु भएको छ ।

कार्तिक शुक्ल पूर्णिमाको रातिदेखि औंसीसम्म १५ दिनसम्म मनाइने मंसिरे चाडलाई आठपहरियाहरुले वाडाङमेट पनि भन्दछन् । आमाबाबुको बरखी बारेका आठपहरियाहरु चार दिनसम्मको पैदल यात्रापछि सुनसरीको कोकाह खोलामा दुःख बगाएर बराहक्षेत्रको दर्शन गरी घर फर्किएका छन् । 

यात्राका क्रममा छानो लगाएको घरमा बास बस्न नहुने धार्मिक मान्यताले आहालेको सिमलीबास, कोकाह खोला र बराहक्षेत्र दर्शनपछि फर्केर धनकुटाको भगुवा खोलामा खुला ठाउँमै रात बिताउँछन् । 

१५ दिनको चाड अवधिमा उनीहरु बर्षभरि मृत्यु भएका आफन्तको मृत्यु संस्कार पूरा गर्छन् । जुठो फुकाएर उनीहरुबीच पितृहरुको सम्झनामा शुभकामना साटासाट गर्ने चलन छ । 

पितृकार्य सकेर वर्षभरि मृत्यु भएका आफन्तहरुको चीरशान्ति र भावी पुस्ताको उन्नतिको कामना गर्दै घरघर डुलेर समूहमा ढोल र मादल बजाउँदै मारुनी गाउने र नाच्ने चलन छ । 

धनकुटा नगरपालिकोको भीरगाउँ, बेलहरा, सान्ताङ्ग, याक्त्ते, खाम्बेला, डाँडागाउँ, बडहरे, फुजुलुक, कर्मिटार, बिहीबारे हाट लगायतका क्षेत्रमा आठपहरिया राई समुदायको मुख्य बसोबास छ । आठपहरियाहरु वैशाखमा विशु र भदौमा धुमधामका साथ न्वागी पर्व मनाउँछन् ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement