धनुषा । वैदेशिक रोजगारीमा गरिब,विपन्न तथा मजदुरी गरेर जीवनयापन गर्ने व्यक्तिको पहुँच भएपछि उनीहरुको रहन-सहन र जीविकामा परिवर्तन आएको छ । गाउँमा अरुको जग्गामा बनिबुतो गर्दै छाप्रोमा जेनतेन गुजारा गर्ने गरेको विपन्न तथा मजदुर परिवारका व्यक्ति वैदेशिक रोजगारीमा गएर पठाएको पैसाले पक्की घर बनेको छ, अनि दैनिक ज्याला मजदुरी गरेर छाक टार्नुपर्ने बाध्यता टरेको छ ।
धनुषाको नगराईन नगरपालिका-९ घोडघाँसका मोहन पासवानको परिवार सानो झोपडीमा बस्थ्यो । गाउँमै दिनुहुँ बनिबुतो गरेर उहाँको गुजारा चल्थ्यो । यसरी गाउँघरको ज्याला मजदुरीले जीवन नचल्ने देखेर मोहनले दुई छोरालाई साहुसँग ऋण काढेर विदेश पठाउनुभयो ।
१० वर्षदेखि दुबईमा सरसफाइ मजुदरका रुपमा काम गर्दै आउनुभएका जेठो छोरा रविन्द्र पासवानको कमाइ मासिक ४० हजार रुपैयाँभन्दा बढी छ । ४ वर्षदेखि कतारमा होटलमा काम गर्ने कान्छो छोरा गोविन्द पासवान पनि मासिक ३० हजारभन्दा बढी पैसा कमाउनुहुन्छ । दुई छोराले विदेशबाट नियमति रुपमा रेमिट्यान्स पठाउन थालेपछि दुई वर्षअघि झुपडीबाट परिवार दुई वटा पक्की घर बनाएर सरेको मोहन पासवान बताउनु हुन्छ ।
दुई जना छोरीको विहे गर्दा ऋणमा डुबेका मोहनले अहिले साहुमहाजनको ऋण चुक्ता गरेर ७ धुर घडेरी र ४ कोठे पक्की घर बनाएर पनि ३० लाख रुपैयाँ बराबरको अरु सम्पत्ति जोड्नु भएको । रविन्द्रकी श्रीमती आशादेवी पासवान भन्नुहुन्छ, 'आर्थिक अभाव र विभेदका कारण आफूले पढ्न नपाए पनि अहिले छोरीहरुलाई पढाउने लक्ष्य लिएका छौं ।' मोहनका नातिनीहरु अहिले निजी स्कुलमा पढिरहेका छन् ।
छोराहरु वैदेशिक रोजगारीमा गएपछिको परिवर्तन मोहन पासवानको परिवारमा बाहिरैबाट देखिन्छ । गरिबीका दिनमा दुई दशकसम्म उहाँ मजदुरी गर्न भारतको पञ्जाव जानुभयो । घरमा समृद्धि भित्रिँदै जाँदा दलित हुनुको विभेद पनि प्रत्यक्ष रुपमा कम हुँदै गएको उहाँको अनुभव छ ।