नेपाल फुटबल संघ-एन्फा र क्लबविरूद्ध खेलाडी धर्नामा उत्रने

कार्तिक १९, २०८२ |खेल ब्युरो
नेपाल फुटबल संघ-एन्फा र क्लबविरूद्ध खेलाडी धर्नामा उत्रने

काठमाडौं । राष्ट्रिय लिग गर्ने सहमति गरेका नेपाल फुटबल संघ-एन्फा र क्लबविरूद्ध खेलाडी धर्नामा उत्रने भएका छन् । 

नेपाल फुटबल खेलाडी संघले बिहिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा धर्ना गर्ने जानकारी दिएको हो । एन्फाको मुख्यालयमा बिहान ११ बजेदेखि धर्ना सुरू हुनेछ । एन्फाले, शहीद स्मारक 'ए' डिभिजज लिग नगरेर राष्ट्रिय लिग घोषणा गरेपछि खेलाडी आक्रोसित भएका हुन् । 

एन्फाको निर्णयमा ए डिभिजनका १४ वटै क्लबले सहमति जनाएका छन् । राष्ट्रिय लिगमा 'ए' डिभिजन लिगका शीर्ष ६ र हाल हेटौंडामा जारी प्रेसिडेन्ड कप खेलिरहेका टिम मध्ये चार गरेर १० टिमबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय लिग पुस ३ गतेदेखि हुने तालिका छ । खेलाडीले भने राष्ट्रिय लिग अघि, शहिद स्मारक 'ए' डिभिजन लिग हुनुपर्ने माग गरेका छन् । 'ए' डिभिजन लिग नभएको आज सात सय ७८ दिन पुगेको छ ।