
काठमाडौं । एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङ फुटबल क्लबले विजयी सुरूवात गरेको छ ।
बुधबार भएको उद्घाटन खेलमा चित्लाङले देउराली युथ क्लबलाई ४-१ गोलअन्तरले पराजित गरेको हो । मकवानपुरको हेटौंडास्थित गौरीटार रंगशालामा चित्लाङलाई जित दिलाउन चन्दनकुमार दास, लहान सुब्बा, विज्ञान खड्का र मदन स्याङ्ताङले समान १-१ गोल गरे ।
पहिलो हाफमा तीन गोलको अग्रता लिएको चित्लाङले दोस्रो हाफमा थप एक गोल गरेको थियो । देउरालीका लागि इन्जुरी समयमा रामचन्द्र वाजेले सान्त्वना गोल फर्काए । दोस्रो खेलमा विजय स्पोर्टस् क्लब कैलाली र लालीगुराँस एसोसियसन क्लब कास्कीले गोलरहित बराबरी खेलेका छन् । दुवै टिमबाट गोलको प्रयास भए पनि खेल बराबरी टुंगिएसँगै टोली अंक बाँड्न बाध्य भए ।
प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविनपछि दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइलनसहित राष्ट्रिय लिगमा समेत स्थान बनाउने छन् ।