सुदूरपश्चिम प्रदेश : उद्योग मन्त्रालय पुनः नाउपालाई नै दिने तयारी

असार २०, २०८२ |टेकराज जोशी
सुदूरपश्चिम प्रदेश : उद्योग मन्त्रालय पुनः नाउपालाई नै दिने तयारी

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पुनः नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई दिने तयारी गर्नुभएको छ । मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि समर्थन फिर्ता लिने भन्दै नाउपाले चेतावनी दिइरहेको बेला मुख्यमन्त्री शाहले नाउपाबाट नाम सिफारिस हुनासाथ नियुक्ति प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभएको हो ।

मुख्यमन्त्री शाहले नाउपासँग संवाद भइरहेको र समर्थन फिर्ता लिने विषयमा आफू विश्वस्त नभएको बताउनुभयो । 

गत जेठ ४ गते मन्त्री नियुक्त हुनुभएका चौधरीले बजेट निर्माणको क्रममा वित्तीय अनुशासन नमानेको, खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा कार्यकारी निर्देशक नियुक्त गर्दा आर्थिक लेनदेन गरेको र कुनै जानकारी नदिएको भन्दै मुख्यमन्त्रीले राजीनामा माग्नुभएको थियो । चौधरीले भने ‘सक्ने भए बर्खास्त गर’ भन्दै सार्वजनिक रूपमै चुनौती दिनुभएको थियो ।

यसअघि पनि नाउपाकै तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले आर्थिक लेनदेनको आरोपमा विवादमा मुछिएपछि गत चैतमा राजीनामा दिनुभएको थियो ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।