मकवानपुर । बागमती प्रदेश सभामा बजेटमाथि छलफल जारी छ । सरकारले प्रतिपक्षी दलहरूको माग सम्बोधन गर्दै २ अर्ब बराबरका नयाँ योजना समावेश गर्ने गरी पूरक प्रस्ताव प्रदेश सभामा प्रस्तुत गरेपछि बजेटमाथि प्रदेश सभामा छलफल सुरु भएको हो ।
पूरक प्रस्तावअनुसार २ अर्ब बजेट बराबरका झन्डै १६ सय योजना थपिने भएका छन् । आइतबारको छलफलमा विपक्षी दलहरूले बजेट समानुपातिकरूपमा वितरण नभएको, मुख्यमन्त्री, अर्थमन्त्रीसहित अन्य मन्त्रीहरूको जिल्लामा मात्रै विनियोजन भएको भन्दै आलोचना गरेका छन् ।
प्रदेश सभा सदस्यहरूले टिपाएका योजनालाई प्राथमिकतामा नराखेको भन्दै विपक्षीको चर्को दबाबका कारण पटक पटक बोलाइएको प्रदेश सभा बैठक समेत स्थगित हुँदै आएको थियो । प्रतिपक्षी दलहरूको माग सम्बोधन गरेपछि दुई दिन छलफल गरेर बजेट पास गर्ने तयारी छ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो ।