कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुन्न निर्वाचन समिति गठन

श्रावण १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुन्न निर्वाचन समिति गठन

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचनको लागि निर्वाचन समिति गठन भएको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकले बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो ।

समितिमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहनुभएको छ । त्यसअघि मंगलबार नै मुख्यमन्त्री बहादुरसिंह लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउन राखिएको अविश्वासको प्रस्ताव पारित भएको थियो । लामाको पक्षमा १५ मत रहॅंदा उहाँको विपक्षमा २२ मत पर्‍यो । लामा स‌ंसदीय दलको नेताबाट पदमुक्त भएसँगै नयाँ नेता चयनका लागि निर्वाचन समिति गठन भएको हो । संसदीय दलको नेताबाट पदमुक्त भएका लामाले आफूले मुख्यमन्त्रीबाट राजीनामा नदिने प्रस्ट पार्नुभएको छ ।

लामालाई पदबाट हटाउन २१ जना सांसदको हस्ताक्षरसहित आइतबार नेपाली कांग्रेस संसद सचिवालयमा अविश्वासको प्रस्ताव पेश गरिएको थियो । केन्द्रीय प्रतिनिधि राजन केसीको उपस्थितिमा मंगलबार मत विभाजनमार्फत अविश्वासको प्रस्ताव पारित भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.