काठमाडौं । प्रदेश सरकारको नेतृत्वलाई लिएर बागमती प्रदेशमा नेपाली कांग्रेसभित्र चर्को मतभेद देखिँदा केन्द्रीय नेतृत्वले औपचारिक रूपमा केही बोलेको छैन । बागमती प्रदेशमा देखिएको विवाद समन्वय गर्न केन्द्रीय सदस्य राजेन्द्र केसीलाई जिम्मेवारी दिने तयारी भने छ ।
एक वर्षअघि कांग्रेसभित्रै मुख्यमन्त्री आलोपालो गर्ने अनौपचारिक सहमति भएको केही नेताहरूले दाबी गरेका छन् । तर सहमति कार्यान्वयन गर्ने विकल्प यो नभएकाले कुन उपाय अपनाउने भन्नेमा नेतृत्व अन्योलमा छ । बागमती प्रदेशमा पनि केन्द्रको जस्तो गुटउपगुट छन् । तर अहिलेका मुख्यमन्त्री लामा र उहाँलाई हटाउन चाहेका इन्द्र बानियाँ दुवै सभापति शेरबहादुर देउवा निकट हुन् । अब यो विवाद संसदीय दलमै मतदान गरेर टुंगो लाग्ने नेताहरूको भनाइ छ ।
सभापति देउवा निकटका नेताहरू मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा विभाजित छन् । गगन थापा निकट रहेका ६ जना र प्रकाशमान सिंह निकट तथा प्रकाशशरण महत पक्षका प्रदेश सभा सदस्यहरू पनि अविश्वासको प्रस्तावको पक्षमा उभिएका छन । तर शेखर कोइराला पक्षका ४ जनाले मुख्यमन्त्री लामाले साथ दिएका छन् ।
२०७९ साल माघमा संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा लामाले २१ मत ल्याएर निर्वाचित हुनुभएको थियो । बानियाँले १६ मत प्राप्त गर्नुभएको थियो । तर अहिले बानियाँले २१ मत जुटाएर लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको हो । अविश्वासको प्रस्ताव पारित भए पुन: संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ । केन्द्रले सहमतिको पहल नगर्ने हो भने बागमती कांग्रेसमा किचलो बढ्ने देखिएपछि केन्द्रीय सदस्य राजेन्द्र केसीलाई समन्वयको जिम्मेवारी दिन लागिएको हो ।