फुर्केखोला पुल नहुँदा धादिङमा महँगीको मार, चाडबाडमा अभावको त्रास

आश्विन २३, २०८३ |पोषनाथ अधिकारी
फुर्केखोला पुल नहुँदा धादिङमा महँगीको मार, चाडबाडमा अभावको त्रास

धादिङ । भदौ १० गतेको भोटेकोशी बाढीले सदरमुकाम धादिङबेंसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्केखोलामाथिको पुल बगाएपछि अहिले धादिङको सदरमुकामसहित ८ स्थानीय तहको राजमार्गसँगको सिधा सम्पर्क टुटेको छ। 

पुल नहुँदा बजारमा दैनिक उपभोग्य सामग्रीको आयात कठिन हुँदा चाडबाडको बेला बजारमा दैनिक उपभोग्य सामग्रीको भाउ बढ्दा नागरिक मारमा परेका छन्। धादिङको फुर्केखोलास्थित पक्की पुल बाढीले बगाएको ४२ दिन भइसकेको छ। 

पुल नहुँदा राजमार्गसँगको सिधा सम्पर्क मात्र टुटेको छैन, नजिकिँदै गरेको चाडबाडमा नागरिकको ढाड सेक्ने गरी महँगी समेत बढेको छ। पुल नहुँदा वैकल्पिक सडकबाट मालसामान ढुवानी गर्दा ठूला सवारी प्रयोग गर्न अप्ठ्यारो छ भने लामो र कच्ची सडक प्रयोग गर्नु पर्दा आयात पनि असहज बनेको छ। 

साथै प्रतिकिलो डेढदेखि दुई रुपैयाँसम्म थप ढुवानी खर्च बढेको छ। ढुवानी कठिन भएपछि खाद्यान्न, ग्यास, तेल, नुनलगायत दैनिक अत्यावश्यक वस्तुको मूल्य समेत बढ्न थालेको छ। यसले चाडबाडको बेला नागरिकलाई चिन्ता थपेको छ।

चाडबाडका बेला माग बढ्ने भए पनि सडक सहज नहुँदा आयातमा कठिनाइ छ । जसका कारण बजारमा मौज्दात घट्दै गएको छ। यसले आगामी दिनमा थप महँगी र अभाव हुन सक्ने त्रास पनि छ। पुल बगेको ४२ दिन बितिसक्दा पनि तत्कालका लागि बेलीब्रिज राख्ने वा स्थायी पुल निर्माण गर्ने विषयमा ठोस निर्णय हुन सकेको छैन। 

जसले गर्दा नागरिकको दैनिक जीवनयापन कठिन बन्दै गएको छ। कच्ची र लामो दुरीको वैकल्पिक सडकबाट हुने आयातको मार नागरिकले चुल्होसम्म भोग्नु परेको छ। यसको संवेदनशीलता बुझ्न राज्यले ढिला गर्नु हुन्न। 


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।