
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले साेमबार संसदीय मामिला हेर्ने पत्रकारहरूसँग भेटघाट गर्नुभएको थियो ।
भेटका क्रममा सरकारको भविष्यदेखि एमालेसँगको सहकार्यसम्मका विषयमा कुराकानी भएको हाम्रा सहकर्मी अञ्जना लामिछानेले बताउनुभएको छ ।
सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा अरू के के कुरा भयो त ?
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वालेन्द्र शाह नेतृत्वको सरकार लामो समय नजाने टिप्पणी गर्नुभएको छ । उहाँले सरकार वैचारिक र राजनीतिक दिशाविहीन भएको समेत बताउनुभयो । सरकारको अहिलेको तौरतरिका पनि बदल्नुपर्ने उहाँले हामीलाई भन्नुभएको थियो ।
दाहालले प्रदेश सरकारहरूमा बनिरहेको नयाँ समीकरणबारे पनि बोल्नुभयो । नेपाली कांग्रेसले प्रतिपक्षविहीन बनाउनु नहुने तर्क गरेपछि प्रदेशमा नेकपा एमालेसँग सहकार्य गरिएको उहाँको भनाइ थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले यसलाई लामो सहकार्य भनेको पनि दाहालले सुनाउनुभयो ।
यद्यपि दाहालको अभिव्यक्तिमा सहकार्यप्रति संशय कायमै थियो । उहाँले ओलीले एमालेभित्रको समस्या सुल्झाउन मात्र सहकार्य गरेको हो कि भन्ने बुझेर मात्र अघि बढ्ने हामीलाई सुनाउनुभयो । दाहाललाई हामीले संसद्मा उहाँको न्यून उपस्थिति किन भनेर प्रश्न गरेका थियौँ । उहाँको सोझो उत्तर थियो- व्यस्त भएर ।
अलि अनौपचारिक हुँदै उहाँले पुराना साथीहरू संसद्मा नभएको र जति छन् ती लिडरसिपवाला नभएकाले संसद् आउन ‘अड’ लाग्ने भन्नुभयो । ‘पहिले पुर्वप्रधानमन्त्रीहरूको लाइन लाग्थ्यो अहिले नयाँ नयाँ मात्रै छन् । पोलिटिकल कल्चर पनि छैन । त्यसैले असहज फिल हुन्छ,’ दाहालले हामीसँग यही भन्नुभयो ।
पुष्पकमल दाहाललाई प्रायःले आफ्ना कमजोरी पनि प्रस्ट भन्ने मान्छे भन्छन् । साेमबारको भेटमा पनि त्यो देखियो । उहाँले आफूहरू पहिले रणनीतिक र दीर्घकालीन रूपमा देश र जनताका लागि सोच्ने भए पनि संविधान बनिसकेपछि भने आफ्नो ध्यान सरकार बनाउने, सत्तामा जाने र सरकार ढाल्नेमा मात्र केन्द्रित भएको उहाँले सहजै स्वीकार गर्नुभयो ।
दाहालले रास्वपा सभापति रवि लामिछानेले आफूलाई गुन तिर्नुपर्ने पनि भन्नुभयो । किन भनेर सोध्दा अघिल्लो संसद्देखि नै जेल जाँदासमेत रविको लागि आफूले डिफेन्स गरेकाले भन्दै उहाँले सुनाउनुभयो । दाहालले उठाएको अर्को विषय संविधान संशोधनको पनि थियो । संविधान संशोधन नभई सरकारले पुनर्लेखन गर्न खोजेको उहाँको भनाइ थियो ।