
काठमाडौं । नेकपा एमालेले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा भोगेको पराजय र नेतृत्व पुन:गठनलाई लिएर अध्ययन गर्न गठित कार्यदलले सुझाव संकलनको काम सकेको छ।
पार्टी सम्बद्ध नाैवटा प्रदेशसहित १३ कमिटीमार्फत सुझाव संकलन गरेर अहिले प्रतिवेदन लेखनको काम भइरहेको छ । असार मसान्तभित्र प्रतिवेदन तयार गरेर केन्द्रीय कमिटीमा छलफल गरी निष्कर्षमा पुग्ने भनिए पनि अझै प्रतिवेदन लेखन सकिएको छैन ।
निर्वाचनमा पराजित हुनुको कारण र कमजोरी केलाउन गठित कार्यदललाई अधिकांशले पार्टी पुनर्गठनको सुझाव दिएका छन् । तर, अब कसरी अघि बढ्ने भन्नेमा एमालेमा अझै अलमल छ । फागुन २१ गतेको निर्वाचनमा नमिठो पराजय भोगेको एमाले यतिखेर निर्वाचन समीक्षा र पार्टी पुनर्गठनबारे देशभरबाट बटुलेको सुझावलाई प्रतिवेदनको रुप दिन व्यस्त छ ।
सुझाव संकलन गर्न पुगेको टोलीसँग अधिकांश नेता-कार्यकर्ताहरुले पराजयको मुख्य जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरुले लिनुपर्ने सुझाव दिएका छन् । नेतृत्वले राजनीतिको बहाव बुझ्न नसक्दा र युवाहरुको भावना सम्बाेधन गर्न नसक्दा पार्टीले हार खेप्नुपरेको अधिकांशको सुझाव रहेको छ ।
कतिपयले नेतृत्वमात्र नभइ समग्र पार्टीकै रुपान्तरण गरेर जानुपर्ने सुझाव दिएका थिए । सुझाव संकलनमा सहभागी कतिपय नेताहरुले भने हारको जिम्मा नेतृत्वमाथि मात्र थोपर्न नहुने भन्दै पार्टीको पुनर्संरचना गरेर जानुपर्ने समेत सुझाव दिएको बताए ।
प्रतिवेदन सुझाव संकलनमा सहभागी पार्टी सचिव राजन भट्टराई प्रतिवेदन लेखनको काम सकिएपछि सचिवालयमा प्रस्तुत हुने र केन्द्रीय कमिटीको बैठकबाट निष्कर्षमा पुग्ने बताउनुहुन्छ । एमाले उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको माग र अध्यक्ष वा पदाधिकारी क-कसले बिदा लिने भन्ने विषय प्रतिवेदन अध्ययनपछि टुङगो लाग्ने बताउनुहुन्छ ।
फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी २५ सिटमा सीमित रहेको एमालेभित्र अध्यक्ष ओलीको नेतृत्वमा प्रश्न उठेको छ भने अर्कोतर्फ अध्यक्षसहित पदाधिकारी सबैले हारको जिम्मेवारी लिनुपर्ने आवाज नेता-कार्यकर्ता पंक्तिबाट उठिरहेको छ ।
पार्टीभित्रै अध्यक्ष ओलीले नेतृत्व छोड्नुपर्ने आवाज बाक्लिँदै जाँदा ओलीले भने यो विषयलाई सार्वजनिकरुपमै अस्वीकार गरिसक्नु भएको छ । अब सुझाव संकलनको प्रतिवेदनलाई लिएर केन्द्रीय कमिटीले के निर्णय गर्छ सबैको ध्यान त्यसैमा केन्द्रित रहेको छ ।