
काठमाडौं । दुई तिहाइ नजिकको शक्तिशाली सरकारले बिजनेस दिन नसक्दा संघीय संसद्का दुवै सदन २ साताका लागि स्थगन गरिएका छन् । बजेटसम्बन्धी छलफल सकिइसक्दा पनि सरकारले नयाँ विधेयक अघि बढाउन नसक्दा संसद् बिजनेसविहीन भएको हो । सरकारले यसै वर्ष १ सय ६६ विधेयकहरु दर्ता गर्ने तयारी भइरहेको बताए पनि ती कहिले संसद् पुग्छन् टुंगो छैन ।
बैशाख २८ गतेदेखि सुरु भएको प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्त्यतिर आइपुग्दा सभा बिजनेसविहीन भएको छ । अहिले प्रतिनिधि सभामा अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन गर्न बनेको विधेयक, २०८३ बाहेक कुनै विधेयक छैन । राष्ट्रियसभातर्फ त झनै विधेयकको अवस्था शून्यमा रहेको छ । छलफलका लागि विधेयकहरु नहुँदा सांसदहरुलाई निर्वाचनक्षेत्र जान समय प्रदान गर्ने नाममा दुई साताका लागि सदन स्थगित गरिएको छ । तर संघीय संसद सचिवालय भने विधेयक नभएकै कारण संसद स्थगित गर्नु्पर्ने अवस्था नरहेको बताउँछ ।
दुई महिनाभन्दा बढी चलेको प्रतिनिधि सभा बैठक ३८ पटक बसेको थियो भने राष्ट्रियसभाको ३३ वटा बैठक बसिसकेको छ । संघीय संसदले यसअवधिमा १० वटा विधेयक पारित गरेको छ भने सातवटा दफाबार छलफलका लागि सम्बन्धित समितिमा छलफलका लागि पठाइएका छन् ।
अहिले विधेयक अभावका कारण दुई साताका लागि संसद् स्थगन गरिए पनि १ सय ६६ विधेयकहरु यसै गर्ष दर्ता गर्ने तयारी भइरहेको कानुनमन्त्री सोविता गौतमले जानकारी दिनुभएको छ । एकबर्षमा पारित गर्ने लक्ष्यका साथ सरकार अघि बढेकाले संसदको रफ्तार अझै बढाउनुपर्ने उहाँको भनाइ छ ।
केही विधेयक भने संसदीय समितिहरुमा छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र चलचित्र गरी दुई वटा विधेयक रहेका छन् भने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अभौतिक सांस्कृतिक सम्पदा र पर्यटन विधेयक छन् । त्यसैगरी राज्य ब्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय सेवा दल र नेपाल विशेष सेवा ऐन २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक रहेको छ भने अर्थ समितिमा नेपाल राष्ट्र बैंङक विधेयक रहेको छ । संघीय संसदको दोस्रो अधिवेशनबाट १० वटा विधेयक पारित भइ प्रमाणीकरणसमेत भइसकेका छन् ।