२५ वर्षीया रुबीलाई राजनीतिक ‘सरप्राइज’

चैत्र २६, २०८२ |अञ्जना लामिछाने
२५ वर्षीया रुबीलाई राजनीतिक ‘सरप्राइज’

काठमाडौै ।  चैत्र २७ गते नेपालको संसदीय इतिहासमा एउटा नयाँ नाम र अध्यायको सुरुवात हुनेछ । त्यो नाम हो रुवीकुमारी ठाकुर । २७ गतेबाट माननीय उपसभामुख रुवीकुमारी ठाकुर हुने निश्चित छ । एक महिनाको अन्तरालमा दोस्रोपटक राजनीतिक सरप्राइज पाउनुभएकी ठाकुर ६ महिनाभन्दा छोटो राजनीतिक आवद्धताले संसद्को दोस्रो ठूलो पदमा पुग्ने लगभग निश्चित छ । 

आफूले पनि सिक्दै संसद्को गरिमा जोगाएर काम गर्न सक्नुभयो भने उहाँ मधेसका छोरीहरूका लागि मात्र होइन देशैभरका छोरीहरूका लागि नयाँ प्रेरण र जागरणको अर्को नाम बन्नुहुनेछ । 

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई भेटेपछि राजनीतिमा चाख राख्न थाल्नुभएकी रुबीकुमारी ठाकुरलाई अब उपसभामुखको कुर्सीमा देखिने भएको छ । कान्छी सांसदको पहिचान बनाउनुभएकी रुबीले १ सय ८२ सिट भएको राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन पाएसँगै कान्छी उपसभामुखको कीर्तिमान पनि रच्नुहुने भएको छ ।

रास्वपाले सुरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समर्थन गर्ने वचन दिएको थियो । तर अन्तिममा बोली फेर्‍यो र श्रम संस्कृतिलाई समर्थन गरिदियो ।

रास्वपाको निर्णय नआउँदासम्म श्रम संस्कृति उम्मेदवारी दिन ढिलो गरिरहेको थियो । यता राप्रपा रास्वपाले समर्थन गर्ने भन्दै उम्मेदवारी दर्ता गराउँदै थियो । राप्रपाबाट सरस्वती लामाको उम्मेदवारी परेको छ । यद्यपि रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीसहितका नेता समर्थनमा आएपछि श्रम संस्कृति पार्टी र रुवी दुवै आश्चर्यमा परे ।

धनुषाको निम्न मध्यम वर्गीय परिवारमा जन्मिएकी रुवी २५ वर्षकी हुनुभयो । पुस्तैनी हजाम पेसा गर्दै आउनुभएका रुवीका बुवा सोगराथ ठाकुर अहिले रोजगारीको सिलसिलामा साउदी अरेबियामा हुनुहुन्छ । आमा गृहणी हुनुहुन्छ । अब उपसभामुख भएपछि देशको लागि काम गर्ने उहाँ बताउनुहुन्छ । जिम्मेवारी ठूलो भए पनि आफूले निर्वाह गर्न सक्ने उहाँ बताउनुहुन्छ ।

चुनावी प्रचारमा धनुषा पुगेका साम्पाङलाई भेटेपछि रुबीले उहाँलाई काम गर्ने नेता ठान्नुभएको थियो । त्यसपछि राजनीतिमा सक्रिय हुनुभयो । प्रतिनिधिसभा निर्वाचनका बेला चुनावी प्रचारमा श्रम संस्कृति पार्टीका लागि अग्रपंक्तिमा समेत उभिनुभयो । रुवीको यही समर्पण देखेर पार्टीले उहाँलाई मधेसी क्लस्टरमा समानुपातिक सांसद सिफारिस गरेको हो ।

२०७४ सालमा स्थानीय विद्यालयबाट एसईई उत्तीर्ण गर्नुभएकी रुबीले धनुषाकै बलरा पोलिटेक्निकबाट ३ वर्षे डिप्लोमा इन्जिनियरिङ अध्ययन पूरा गर्नुभएको छ । अब पढाइ र राजनीतिलाई सँगै लिएर जाने रुवीको अठोट छ ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।