
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले बिनातयारी सुकुम्वासी बस्ती खाली गराएको भन्दै सरकारको आलोचना गरेका छन् ।
आज बसेको संसदीय समितिको बैठकमा उनीहरूले बिनातयारी र पूर्वसूचनासमेत नदिई बस्ती हटाउँदा बालबालिका र परिवारहरूमा मानसिकदेखि दैनिक आधारभूत समस्या परेको भन्दै सरकारको आलोचना गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका सांसद घनश्याम रिजालले सुकुम्वासी बस्ती हटाउने क्रममा सरकार अमानवीय तरिकाले अघि बढेको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्रीकै निर्देशनमा कुनै वैकल्पिक व्यवस्था नगरी, कम्तीमा एक हप्ताको समयसमेत नदिई बस्ती खाली गराइएको भन्दै सुरक्षाकर्मी परिचालनमार्फत सुकुम्वासीमाथि ज्यादती गरिएको आरोप पनि लगाउनुभयो ।
लोकतान्त्रिक समाजवादी पाटी, नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारका पछिल्ला कार्य र केही निर्णयहरूले मुलुकमा नकारात्मक प्रभाव मात्रै बढाएको टिप्पणी गर्नुभयो । उहाँले सरकारप्रति देशभर असन्तुष्टि बढ्दै गएको बताउनुभयो । ठाकुरले प्रधानमन्त्रीले मधेसको समस्या काठमाडौँ नआई स्थानीय तहबाटै समाधान हुने अभिव्यक्ति दिएको स्मरण गराउँदै वास्तविकता त्यस्तो नभएको जिकिर गर्नुभयो । बैठकमा बोल्ने अधिकांश सांसदहरूले विकल्प नदिई सुकुम्वासी बस्ती खाली गराएकोप्रति सरकारको आलोचना गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले सुकुम्वासीलाई जे गरे पनि हुन्छ भन्ने मानसिकताबाट अघि बढ्को बताउनुभयो । उहाँले सरकारले मानवीय संवेदनाको ख्याल नराखी सुकुम्वासी बस्तीमा डोजर चलाउनु गलत भएको टिप्पणीसमेत गर्नुभयो ।
पौडेलले यसअघिका सरकारले गरेका गृहकार्यका आधारमा वास्तविक सुकुम्वासी पहिचान नगरी डोजर चलाइएको उहाँको तर्क छ ।