एनभीए भलिबल : महिलातर्फको उपाधिका लागि न्यु डायमन्ड र पुलिस क्लब भिड्ने

वैशाख १६, २०८३ |खेल ब्युरो
एनभीए भलिबल : महिलातर्फको उपाधिका लागि न्यु डायमन्ड र पुलिस क्लब भिड्ने

काठमाडौं । दशौं पीएम कप एनभीए भलिबल लिगको महिलातर्फको उपाधिका लागि न्यु डायमन्ड युथ स्पोट्स क्लबले नेपाल पुलिस क्लबको सामना गर्ने भएको छ। 

नेपाल पुलिस क्लब एक खेलअघि नै फाइनलमा पुगेपछि यी दुईबीचको उपाधि भिडन्त तय भएको हो। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भइरहेको प्रतियोगिताअन्तर्गत बुधबार नेपाल पुलिसले एपीएफलाई हराएको थियो। बुधबारको हारसँगै एपीएफको भने फाइनल सम्भावना समाप्त भएको छ। 

लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले एपीएफलाई ३-१ सेटमा हराएको हो। पहिलो सेट गुमाएको भए पनि पुलिसले त्यसपछि पुनरागमन गरेको हो। पहिले सेटमा एपीएफले २५-२१ को जित हासिल गरेको थियो। तर त्यसपछिको खेलमा उसले पुलिसले २५-१९,२९-२७,२५-२१ को जित दर्ता गरेको हो। 

अब महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले फाइनल अघि लिग चरणमा नै न्यु डायमन्डसँग खेल्न बाँकी छ। यो खेल बिहीबार हुनेछ। यसैगरी महिलातर्फ बुधबारनै भएको अर्को खेलमा एभरेष्ट भलिबल क्लबले पनि त्रिभुवन आर्मी क्लबलाई चार सेटमा हराएको छ। 

खेलको पहिलो सेटमा आर्मीले २०-२५ को जित हासिल गरेको थियो। तर, आर्मीले त्यो लय कायम राख्न सकेन। पहिलो सेट गुमाएको एभरेस्टले दोस्रो सेटमा २५-१५ को फराकिलो जित निकालेको थियो। त्यसपछिका दुई सेटमा २५-१४ र २५-१९ को जितसाथ एभरेस्टल विजयी भएको हो। 

प्रतियोगितामा राम्रो प्रदर्शनका बाबजुद एभरेष्ट क्लब फाइनलमा भने पुग्न सकेन्।