आईसीसी विश्वकप लिग-टू : नेपालविरूद्ध ओमानकाे फराकिलो जित

वैशाख १६, २०८३ |खेल ब्युरो
आईसीसी विश्वकप लिग-टू : नेपालविरूद्ध ओमानकाे फराकिलो जित

काठमाडौं । आईसीसी विश्वकप लिग-टूमा नेपालले ओमानसँग डीएलएस पद्धतिका आधारमा एक सय २ रनको हार बेहोरेको छ। 

तीन सय ६ रनको लक्ष्य पछ्याएको नेपालले ३६ ओभर पाँच बलमा सात विकेट गुमाएर एक सय ५५ रन बनाएपछि वर्षा सुरु भएको थियो। यतिबेलासम्म डीएलएसमा २ सय ५८ रनको लक्ष्य रहेका कारण खेल पुन: सुरु हुन नसकेपछि नेपालले फराकिलो हार बेहोरेको हो।

पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर तीन सय ५ रन बनाएको थियो। ब्याटिङमा सानदार प्रदर्शन गरेको ओमानका कप्तान जतिन्दर सिंहले शतक पूरा गरे। पहिलो विकेटका लागि जतिन्दर र आशिष ओडेडाराले ८० रनको साझेदारी गरे । 

सन्दीप लामिछानेले २३ रन बनाएका आशिष ओडेडारालाई आउट गर्दै साझेदारी तोडेका हुन् । १ रन बनाएका नदीम खान दिपेन्द्र सिंह ऐरीको सिकार भए । चौथो विकेटका लागि जतिन्दर र हम्माद मिर्जाबीच ८१ रनको अर्को अर्धशतकीय साझेदारी भयो । 

दिपेन्द्रले ३० रन बनाएका मिर्जालाई क्याचआउट गराउँदै यो साझेदारी तोडेका थिए । ओमानका कप्तान जतिन्दरले ७३ बलमा शतक पूरा गरे । ओडीआइमा उनको यो पाँचौं र नेपालिवरूद्ध दोस्रो शतक हो । उनले ९६ बलमा १५ चौका र ५ छक्कासहित एक सय ३० रनको शतकीय योगदान दिए । 

ओडीआई त्रिकेटमा उनको यो हालसम्मकै व्यक्तिगत उच्च स्कोर हो । ३५ रन बनाएका आर्यन बिष्टलाई सन्दिप लामिछानेले बोल्ड गरे । जितेन रामानन्दीले एक सयको स्ट्राइक रेटमा ४३ रन बनाए भने विनायक शुक्लाले २३ रनको इनिङ्स खेले। सोमपालले नौ ओभरमा चार विकेट लिँदा सन्दीप र दिपेन्द्रको नाममा दुई-दुई विकेट लिए।

जवाफमा नेपालले सम्हालिएको ब्याटिङ गर्न सकेन । एक रन बनाएका कुशल भुर्तेल शकिल अहमदको एलबिडब्ल्यु धरापमा परे। आशिफ शेखले १९ रन बनाएका थिए भने भीम सार्कीले २८ रनको योगदान गरे। यसैगरी रोहित पौडेलले १० रन जोड्दा बसिर अहमद एक रनमा नै आउट भए। 

दिपेन्द्रले ६० रनको अर्धशतकीय इनिङ्स खेलेका छन्। ८ बाउन्ड्री प्रहार गरेका उनलाई मुहमद इमरानले क्याचआउट गराएका थिए। आरिफ शेख १४ रनमा नै आउट भए। सात विकेट गुमाएर नेपालले एक सय ५५ रन बनाएको अवस्थामा वर्षा सुरु भएपछि खेलमा अवरोध भएको थियो।

बुधबारको हारसँगै २२ खेल खेलको नेपालको १४ अंक छ। तेस्रो स्थानको ओमानको ३१ अंक भएको छ। अब नेपालले शुक्रबार अंकतालिकाको पुछारमा रहेको यूएईको सामना गर्नेछ।