कांग्रेस संसदीय दलको नेता आङ्देम्बेलाई बनाउने निर्णय

वैशाख १४, २०८३ |प्रकाश बम
कांग्रेस संसदीय दलको नेता आङ्देम्बेलाई बनाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेको नाम सर्वसम्मत प्रस्ताव गरिएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगन थापाले दलको नेतामा आङ्देम्बेको नाम प्रस्ताव गर्नुभएको हो ।

यसैगरी सभापति थापाले प्रमुख सचेतकमा बासना थापा र सचेतकमा निस्कल राईको नाम प्रस्ताव गर्नुभएको छ । कार्यसम्पादन समितिको बैठकमा प्रस्ताव गरिएपछि संसदीय दलको बैठकले यी नामहरू अनुमोदन गर्नेछ । आङ्देम्बेको अनुमोदन भएसँगै विसं २०६४ पछि पहिलोपटक कांग्रेस संसदीय दलको नेता सर्वसम्मत रूपमा निर्वाचित हुनेछन् ।

आङ्देम्बेलाई पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षको समेत समर्थन रहेको जनाइएको छ । अर्जुननरसिंह केसी र मोहन आचार्यले समेत दाबी गरेका कारण कांग्रेसमा संसदीय दलको नेता चयनमा ढिलाइ भएको थियो । त्यस्तै, दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय अनुशासन समितिको बैठक बस्दै छ । बैठकले गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका र तिनका समर्थक/प्रस्तावकहरू विरुद्ध परेका उजुरीमाथि छलफल हुनेछ ।

त्यस्तै पूर्वउपसभापति पूर्णबहादुर खड्का र रामेछापका नेता कान्छाराम तामाङलाई सोधिएको स्पष्टीकरणका सम्बन्धमा पनि आजको बैठकले आवश्यक निर्णय लिने बताइएको छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।