
काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पार्टी संसदीय दलको नेता चयन गरेसँगै संवैधानिक परिषद्ले पूर्णता पाएको छ । प्रतिनिधिसभा निर्वाचनको परिणाम आएको झन्डै डेढ महिनासम्म कांग्रेसले दलको नेता चयन नगर्दा संवैधानिक परिषद्ले पूर्णता पाउन सकेको थिएन ।
कांग्रेस दलको नेतामा भीष्मराज आङदेम्बे चयन गरेसँगै ६ सदस्यीय संवैधानिक परिषद्ले अब पूर्णता पाएको हो । संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र विपक्षी दलका नेता रहने व्यवस्था छ।
संवैधानिक परिषद्मा विपक्षी दलका नेता नहुँदा अहिलेसम्म परिषद्को बैठक बस्न सकेको छैन भने सर्वोच्च अदालत कामुको भरमा चलेको छ । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगहरूमा पनि सदस्य रिक्त रहेको अवस्था छ ।
संवैधानिक परिषद्को बैठकले संवैधानिक निकायका पदाधिरीकारीसहित सदस्यहरूको नियुक्तिका लागि सिफारिस गर्दछ भने संसदीय सुनुवाइ समितिबाट सिफारिस भएका पदाधिकारीसहित सदस्यहरूको सुनुवाइ भएपछि नियुक्ति हुने प्रावधान रहेको छ ।