कूटनीतिक प्रभाव विस्तारमा शक्तिराष्ट्र

वैशाख १३, २०८३ |किरण पौडेल
कूटनीतिक प्रभाव विस्तारमा शक्तिराष्ट्र

काठमाडौँ । वालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएयता विभिन्न शक्ति राष्ट्रहरू नेपालमा आफ्नो कूटनीतिक प्रभाव विस्तारमा लागेका छन् ।

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर वैशाख १७ मा चारदिने भ्रमणका लागि काठमाडौँ आउने तयारी छ । भारतका लागि अमेरिकी राजदूतको जिम्मेवारीमा समेत रहनुभएका गोर ट्रम्पका विश्वासपात्र र उच्च ओहदाका कूटनीतिज्ञ मानिनुहुन्छ ।

ट्रम्पले राष्ट्रपति निर्वाचित भएलगत्तै गोरलाई दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत नियुक्त गर्नुभएको थियो । त्यसअघि उहाँ ह्वाइट हाउसमा राष्ट्रपतिको सहायक तथा राष्ट्रपति कर्मचारी व्यवस्थापन निर्देशक हुनुहुन्थ्यो ।

यसबीच अमेरिकी सहायक विदेशसचिव समीर पल कपुर पनि आफ्नो तीनदिने भ्रमण सकेर वैशाख १० गते वासिङ्टन फर्किनुभएको थियो । नेपालमा रहँदा उहाँले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्नुभएको थियो । त्यसक्रममा लगानी प्रवर्द्धन र द्विपक्षीय सहयोगका विषयमा छलफल भएको थियो ।

अमेरिकी दूतहरूको सक्रियताकै बीच चिनियाँ दूतहरूले पनि नेपालमा कूटनीतिक प्रभाव विस्तार थालेका छन् । चिनियाँ परराष्ट्र मन्त्रालयकी उपमहानिर्देशक काओ जिङले पनि वैशाख ८ गते काठमाडौँमा उच्चस्तरीय भेटघाट गर्दै एमसीसी कार्यान्वयन, एसपीपी र स्टारलिंक स्याटेलाइटजस्ता विषयमा चासो व्यक्त गर्नुभएको थियो ।

अमेरिका र चीनको यो सक्रियताकै बीच भारतले पनि विदेशसचिव विक्रम मिस्रीलाई काठमाडौँ पठाउने आन्तरिक तयारी सुरु गरेको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय विदेशसचिव मिस्रीसहित विभिन्न विदेशी कूटनीतिज्ञको भ्रमणको मिति निर्धारण नभए पनि प्रारम्भिक तयारी थालिसकिएको छ ।

भूराजनीतिक मामिलाका जानकार चन्द्रदेव भट्ट भने शक्तिशाली मुलुकहरूबाट भइरहेको उच्चस्तरीय भ्रमण र यसका प्रभावहरूलाई ख्याल गर्दै आफ्नो प्राथमिक्तालाई केन्द्रमा राख्नुपर्ने बताउनुहुन्छ ।

यी पछिल्ला कूटनीतिक दौडधुपहरू नयाँ सरकारको वैदेशिक लगानी भित्र्याउने लक्ष्यमा सहायक हुने पनि विज्ञहरूको मत छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।