पानामाकाे विश्वकपमा पुनरागमन : ‘ग्रुप अफ डेथ’ मा ऐतिहासिक जितको खोजी

वैशाख १६, २०८३ |अभय बस्नेत
पानामाकाे विश्वकपमा पुनरागमन : ‘ग्रुप अफ डेथ’ मा ऐतिहासिक जितको खोजी

काठमाडौं । फिफा विश्वकप २०२६ को ४५ दिने काउन्टडाउन सुरू भएसँगै मध्य अमेरिकी राष्ट्र पानामा आफ्नो फुटबल इतिहासको अर्को सुनौलो अध्याय लेख्न तयार छ । 

'लस क्यानालेरोस' उपनामले चिनिने पानामाका लागि यो दोस्रो विश्वकप सहभागिता हो । सन् २०१८ को रसिया विश्वकपमा डेब्यु गरेको पानामा, कतार २०२२ मा छनोट हुन असफल भएकोमा यसपटक अझ बलियो भएर विश्व मञ्चमा फर्किएको छ ।

पानामाले यसपटकको विश्वकप यात्रा निकै प्रभावशाली ढंगले तय गरेको छ । कन्काकाफ छनोटको तेस्रो चरणमा अपराजित रहँदै समूह 'ए' को विजेता बनेर पानामाले आफ्नो स्थान सुरक्षित गर्‍यो । नोभेम्बर २०२५ मा एल साल्भाडोरलाई ३-० ले पराजित गर्दै पानामाले विश्वकपको टिकट काटेको थियो । 

हाल फिफा वरीयताको ३३औं स्थानमा रहेको पानामाले सेप्टेम्बर २०२५ मा आफ्नो इतिहासकै उच्च २९औं स्थान हासिल गरेको थियो । पानामाको यो सफलताको मुख्य श्रेय डेनिस मुलका प्रशिक्षक थोमस क्रिस्टियनसेनलाई जान्छ, जो सन् २०२० देखि टोलीको नेतृत्व गरिरहेका छन् । 

उनले पानामाको परम्परागत खेल शैलीलाई परिवर्तन गरी आधुनिक र बल नियन्त्रणको शैलीमा ढालेका छन् । टोलीको नेतृत्व अनुभवी कप्तान अनिबल गोडोयले गरिरहेका छन्, जो १ सय ५९ क्यापका साथ देशका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमानी खेलाडी हुन् । 

त्यस्तै, सन् २०२३ को गोल्ड कपका उत्कृष्ट खेलाडी अडालबर्टो 'कोको' कारास्कुइला मिडफिल्डका मुख्य खम्बा हुन् । रक्षापंक्तिमा बेसिकटास बाट खेल्ने भेट्रान अमिर मुरिलो र गोलपोस्टमा अनुभवी लुइस मेजिया पानामाका भरपर्दा खेलाडी हुन् । आक्रमणको जिम्मेवारी इस्मैल डियाज र छनोट चरणमा ३ गोल गरेका जोसे फजार्डोको कााधमा छ ।

यसपटक पानामा कठिन मानिएको समूह 'एल' मा परेको छ, जसलाई 'ग्रुप अफ डेथ' को संज्ञा दिइएको छ । यस समूहमा पानामाले इङ्ल्यान्ड, क्रोएसिया र घानाजस्ता फुटबल हस्तीहरूसँग प्रतिस्पर्धा गर्नेछ । पानामाले जुन १७ मा घाना, २३ मा क्रोएसिया र २७ मा इङ्ल्यान्डको सामना गर्नेछ ।

पानामाका लागि इङ्ल्यान्डविरुद्धको खेल बदलाको अवसर पनि हुनेछ । सन् २०१८ मा पानामा इङ्ल्यान्डसँग ६-१ ले पराजित भएको थियो, तर सोही खेलमा फेलिपे बालोयले पानामाका लागि विश्वकप इतिहासको पहिलो ऐतिहासिक गोल गरेका थिए ।

पहिलो डेब्युमा जित निकाल्न नसकेको पानामाको यसपटकको मुख्य लक्ष्य ऐतिहासिक पहिलो जित दर्ता गर्नु र नकआउट चरणसम्मको यात्रा तय गर्नु हो ।


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनकाे स्पाेर्ट्स ब्युराेमा कार्यरत छन् ।