काठमाडौँ । प्रतिनिधिसभामा १ सय ८२ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको भूमिका संसद्मा कस्तो रहला ? अघिल्लो संसद्का ठूला दल कांग्रेस-एमालेका सांसदहरू कसरी प्रस्तुत होलान् ? सबैको प्रतिक्षाको विषय बनेको छ ।
निर्वाचन आयोगमा समानुपातिकको प्रमाणपत्र लिन पुगेका रास्वपा सांसदहरूले अब आफूहरू सुशासन, पारदर्शी र भ्रष्टाचाररहित राष्ट्र निर्माणमा केन्द्रित रहने बताएका छन् । कांग्रेस, एमाले र राप्रपा भने सरकारको कामलाई हेरेर संसद्मा खबरदारी गर्ने रणनीतिमा छन् ।
प्रतिनिधिसभामा समानुपातिकतर्फ १ सय १० मध्ये ५७ सिट जितेको रास्वपाका सांसदहरू तोकिएकै समयमा प्रमाणपत्र लिन निर्वाचन आयोग पुगेका थिए । युवा तथा नयाँ अनुहारका मात्र नभएर कुनै न कुनै क्षेत्रमा आबद्ध रहेर काम गरिसकेका व्यक्तिलाई रास्वपाले संसद्मा पठाएको छ । प्रमाणपत्र ग्रहणपछि कान्तिपुरसँगको कुराकानीमा उनीहरूले आफूहरू कानुन निर्माणदेखि सरकारको कामलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने बताए ।
रास्वपाका सांसदहरूले फरक फरक क्षेत्रबाट संसद्मा प्रतिनिधित्व गर्ने भएकाले पनि स्वास्थ्य, शिक्षा, सूचना तथा प्रविधिका विषयलाई प्राथमिकता दिएर उठाउने बताएका छन् । प्रतिपक्ष बेन्चमा पुगेका कांग्रेस, एमाले र राप्रपाका सांसदहरू भने सरकारको काम हेरेर सहयोग वा विरोध गर्ने रणनीतिमा रहेका छन् । रास्वपालाई जनताले पाँच वर्षको म्यान्डेट दिएकाले रचनात्मक भूमिकामा प्रस्तुत हुने तर कानुनविपरीतका काम भए सशक्त विरोध गर्ने पक्षमा उनीहरू देखिएका छन् ।
सरकारको नेतृत्व गर्ने तरखरमा रहेको रास्वपाले जनताले अनुभूत हुने गरी परिवर्तन गर्ने प्रतिबद्धता जनाएका छन् भने निर्वाचनबाट कमजोर प्रतिपक्षीको भूमिकामा पुग्दै गरेका दलहरू पर्ख र हेरको स्थितिमा देखिन्छन् ।