
काठमाडौै । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि अब जम्मा २९ दिन बाँकी छ। राजधानी काठमाडौंदेखि दूरदराजसम्मै निर्वाचनको तयारी चुलिएको छ। निर्वाचन आयोगको व्यस्तता बढेको छ, सयौं कर्मचारी जिल्लाजिल्लामा परिचालन भएका छन्, हजारौं सुरक्षाकर्मी फिल्डमा खटिएका छन्, लाखौं मतपत्र छापिँदैछन्। १६५ निर्वाचन क्षेत्रमा निर्वाचनका लागि आवश्यक सामग्रीको ढुवानी धमाधम भइरहेको छ। यो अन्तिम २९ दिनमा के-के हुँदैछ ?
समानुपातिकतर्फको मतपत्र छापिसकेको निर्वाचन आयोगले प्रत्येक दिन १२ देखि १५ लाखसम्मका दरले प्रत्यक्षतर्फको मतपत्र छापिरहेको छ । आयोगले बुधबारसम्म ५६ जिल्लाका १ सय निर्वाचन क्षेत्रका लागि ५० लाखभन्दा बढी मतपत्र छापिसकेको छ । यसैगरी आयोगको मुख्य प्राथमिकतामा रहेको मतदाता शिक्षा फागुन ३ देखि सुरु गरेर १७ गतेसम्म सम्पन्न गर्ने तालिका छ । यसका लागि प्रत्यक्ष र समानुपातिकतर्फका पाँच-पाँच लाख नमुना मतपत्र ७७ जिल्लामा पुर्याइससकिएको छ भने सात सय ५३ स्थानीय तहका वडा तहसम्म मतदाता शिक्षा लिएर पुग्ने आयोगले जनाएको छ ।
निर्वाचन आयोगले आचारसंहिता अनुगमनलाई पनि प्रभावकारी बनाउने जनाएको छ । आयोगका कार्यबाहक प्रमुख आयुक्त तथा आयुक्तहरुको टोली माघ २७ देखि सातवटै प्रदेशमा अनुगमनमा निस्कने कार्यतालिका छ । आयोगले मतदानको एक साताअघि दूर्गम तथा हिमाली जिल्लामा र अन्यत्र तीन दिनअघि निर्वाचन अधिकृतसहितको टोली खटाउनेछ । फागुन १८ गतेदेखि मौनअवधि सुरु हुनेछ भने २१ गते विहान सातदेखि साँझ पाँचबजेसम्म मतदानको समय तोकिएकाले निर्धक्क भएर मतदानमा सहभागी हुन पनि आयोगले आह्वान गरेको छ ।
जेन-जी आन्दोलनपछिको फरक परिस्थितिमा हुन लागेको फागुन २१ को निर्वाचनमा १० लाख नयाँ मतदाता थपिएका छन् भने प्रत्यक्षतर्फ राजनीतिक दलका र स्वतन्त्र गरि ३४ सय ६ उम्मेदवार मैदानमा छन् ।