
काठमाडौं । विसं १९९० सालको भूकम्पले भत्किएको काठमाडौंको लिच्छविकालीन नास: द्यो : छे मन्दिर ९३ वर्षपछि पुनर्निर्माण भएको छ ।
हाल काठमाडौं महानगर वडा नं ८ सिफलचौरनजिकैको मन्दिरलाई पुनर्जीवन दिइएको हो । काठमाडौं महानगपालिकाको सहयोगमा २ करोड ५४ लाख रुपैयाँको लागतमा परम्परागत शैलीमा मन्दिर निर्माण गरिएको वडाध्यक्ष आशराम संगतले बताउनुभयो ।
धर्म संस्कृति र पुरातात्विक सम्पदा संरक्षण गर्ने उद्देश्यले लोपोन्मुख अवस्थामा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिरको पुननिर्माण गरिएको हो । काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मन्दिर उद्घाटन गर्दै पुरातात्विक सम्पदा संरक्षण महानगरको प्रमुख प्राथमिकता रहेको बताउनु भयो ।
काठमाडौं महानगरपालिकाले पछिल्लो समय ७७ वटा मूर्त र ८२ वटा अमूर्त सम्पदा पुनर्निर्माण गरिसकेको जनाएको छ । सोही अवसरमा महानगरको सहयोगमा आयोजित तीन परम्परागत बाजा प्रशिक्षणका सहभागी र प्रशिक्षकलाईसमेत सम्मान गरिएको थियो। तीन महिने धिमे बाजा, पछिमाय् र बाँसुरी बाजा प्रशिक्षणमा ९० जना सहभागी थिए ।