
धनकुटा । धनकुटाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टी र स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले निर्वाचन प्रयोजनको छुट्टै बैंकखाता नखोलेपछि आचारसंहिता अनुगमन समितिले चासो व्यक्त गरेको छ ।
धनकुटामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका १७ मध्ये १२ जना उम्मेदवारले निर्वाचन प्रयोजनका लागि अनिवार्य गरिएको छुट्टै बैंक खाता खोल्न आनाकानी गरिरहेको निर्वाचन कार्यालयले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका १७ मध्ये हालसम्म ५ वटा राजनितिक दलका उम्मेदवारले मात्रै निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न सिफारिस लिएका छन् ।
बाँकी १२ जना उम्मेदवारले छुट्टै बैंकखाता खोल्न आलटाल गरिहेको आचारसंहिता अनुगमन समितिले जनाएको छ। हालसम्म नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र आम जनता पार्टीले मात्रै निर्वाचन प्रयोजनको छुट्टै खाता सञ्चालनका लागि निर्वाचन कार्यालयबाट सिफरिस लिएको जिल्ला निर्वाचन अधिकारी माधवकुमार अधिकारीले जानकारी दिनुभयो ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सर्वदलीय बैठकमा सबै दल र स्वतन्त्र उम्मेदवारलाई चाँडै खाता खोलेर सबै कारोबार बैंकखाता मार्फतमात्रै गर्न निर्देशन दिएको बताउनुभयो ।