
सिरहा । सिरहाका चारवटै निर्वाचन क्षेत्रमा मतगणना स्थल तयार भएको छ ।
मतगणना स्थललाई तार-जालीले घेर्ने, सुरक्षा व्यवस्था मिलाउनेलगायतका काम सम्पन्न भएको हो । मुख्य निर्वाचन अधिकृत प्रकाश उप्रेतीले मतगणनाका लागि सम्पूर्ण तयार पूरा भएको बताउनुभयाे । मतपेटिका मतगणना स्थलमा प्राप्त भइसकेपछि विलम्ब नगरेर सर्वदलीय बैठक, कानुनी प्रक्रियालगायतका काम सम्पन्न गरी मतगणना सुरू हुने उहाँले जनाउनुभयाे ।
'सर्वदलीय बैठकमा उम्मेदवारका प्रतिनिधिहरूको कुरा पनि सुन्नुपर्ने हुन्छ,' उहाँले भन्नुभयाे, 'तर, यी सबै काम सकाएर विलम्ब नगरी हामी मतगणना प्रक्रियामा प्रवेश गर्छौं ।' सिरहा १ का लागि लहान नगरपालिकाको सभाहलमा, सिरहा २ का लागि धनगढीमाई नगरपालिकाको कार्यालयमा, सिरहा-३ का लागि सिरहा नगरपालिकाको कार्यालयमा र सिरहा-४ का लागि मिर्चैयास्थित रेडक्रसको भवनमा मतगणना स्थल बनाइएको छ ।