
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि मतदानको सम्पूर्ण तयारी पुरा भएको छ । भोलि बिहान सात बजेदखि साँझ पाँच बजेसम्मका लागि मतदानको समय तोकिएको छ । त्यसका लागि देशभर मतदान केन्द्रलाई व्यवस्थित गर्ने काम तिब्र रुपमा भइरहेको छ ।
निर्वाचनको लागि केन्द्रीय तहमा हुनुपर्ने सम्पूर्ण तयारी सकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार देशभरका २३ हजार १ सय १२ वटै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । मतदान केन्द्रमा पुगेका मतदान अधिकृतहरुले सूचना टाँस गर्नेदेखि लिएर आवश्यक सबै प्रशासनिक तयारी गरिरहेका छन् । आयोगले मतदान स्थलमा मतदानका लागि आवश्यक तयारीका काम जारी राखेको जानकारी दिएको छ ।
मतदान गर्न जाँदा मतदाताले आफ्नो मतदाता परिचयपत्र लिएर जानुपर्ने आयोगले भनेको छ। मतदाता परिचयपत्र नभएको खण्डमा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, चालक अनुमतिपत्र वा जग्गाधनी पुर्जा लिएर मतदान केन्द्रमा जान सकिने आयोगले जनाएको छ।
आयोगले मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् / दूरसञ्चार मर्मत, खानेपानी तथा ढल मर्मत, कूटनीतिक नियोगका सवारीसाधनहरू र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी पास प्राप्त गरेका सवारीसाधन मात्र सञ्चालन गर्न पाइने भएको छ । अन्य सार्वजनिक तथा निजी सवारी साधनहरू आज मध्यराति १२ बजेदेखि भोलि साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउने निर्णय आयोगले गरेको छ ।
निर्वाचनको दिन भोलि आन्तरिक उडानहरू भने नियमित रूपमा सञ्चालन हुनेछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सूचना जारी गर्दै भोलि मतदानका दिन देशभर आवश्यकताअनुसार सबै प्रकारका आन्तरिक उडानहरू सञ्चालन हुने प्रष्ट पारेको छ ।
प्रतिनिधि सभा सदस्यका लागि भोलि प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकका १ सय १० गरी जम्मा २ सय ७५ सदस्य चयनका लागि मतदान हुँदैछ ।