
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि २ दिन बाँकी रहेको छ । मौन अवधि जारी रहेकाले दल र उम्मेदवारहरुका गतिविधि ठप्प भएको छ भने मतदान स्थलमा मतदानका लागि तयारीहरु तिब्र पारिएको छ ।
निर्वाचन आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको छ। यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।
निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरकफरक जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।
निर्वाचन आचारसंहितामा समावेश भएका व्यवस्थाअनुसार आजदेखि फागुन २१ गतेसम्म आचारसंहिताले तोकेका सबै पक्षले पालना गर्नुपर्ने आचरणको प्रभावकारी परिपालनाको अनुगमन गर्न आयोगले निर्देश गरेको छ ।
बिहीबार बिहान ७ बजेदेखि साँझ ५ सम्म मतदानको समय तोकेको छ । प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकका १ सय १० गरि जम्मा २ सय ७५ सदस्यका लागि निर्वाचन हुँदैछ ।