निर्वाचनले लोकतन्त्र सुदृढ गर्नुका साथै देशमा स्थायित्व ल्याउनुपर्छ : ओली

फाल्गुन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनले लोकतन्त्र सुदृढ गर्नुका साथै देशमा स्थायित्व ल्याउनुपर्छ : ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनले देशमा लोकतन्त्र सुदृढ बनाउँदै राजनीतिक स्थायित्व र सुशासन स्थापना गर्न योगदान गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । अराजनीतिक, अराजक तथा हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउने दिशामा निर्वाचनले महत्वपूर्ण भुमिका खेल्नुपर्ने ओलीको भनाइ छ । 

उहाँले लोकतान्त्रिक प्रक्रियामार्फत संविधानलाई सही ट्र्याकमा फर्काउँदै देशलाई स्थिरता, स्थायित्व र सुशासनतर्फ अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले देशको शान्ति, सुव्यवस्था तथा राष्ट्रिय हितको रक्षा गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउँदै देशको अस्तित्व, स्वाधिनता र राष्ट्रिय हितको संरक्षण तथा संवर्द्धनमा निर्वाचनले सकारात्मक भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले शान्ति, सुशासन र विकासका पक्षमा रहेका अनुभवी तथा देशभक्त नेतृत्वलाई अत्यधिक बहुमतले विजयी गराउन मतदातासमक्ष आह्वान समेत गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.