
डाेल्पा । हिमाली जिल्ला डाेल्पामा उत्साहपूर्ण रूपमा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएको छ ।
बिहीबार जिल्लाभर शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएकाे हाे । स्थायी र अस्थाई गरेर कुल ७० वटा मतदान केन्द्र भएको डाेल्पामा स्वच्छ,मर्यादित एवं शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिनुभयाे ।
उहाँका अनुसार डाेल्पामा कुल ६६.१६ प्रतिशत मत खसेकाे छ । मुचुल्का उठाउन्जेलसम्म केही थपघट हुनुसक्ने प्रजिअ हमालकाे भनाइ छ । संख्यात्मक हिसाबमा १५ हजार ९ सय ५६ मत खसेकाे उहाँले बताउनुभयाे । कुल मतदाता २४ हजार १ सय १५ रहेकाे डाेल्पामा ८ हजार १ सय ५९ मत भने खसेन् ।
विशेष गरेर उपल्लो डाेल्पाका २३ मतदान केन्द्रमा ५० प्रतिशत भन्दा कम मत खसेकाे बताइएको छ । हिमपातकाे कारण उपल्लो डाेल्पाका धेरै जसाे मतदाता नआएको कारण कम मत खसेकाे हाे । अहिले मुचुल्का उठाउने काम भइरहेकाे छ ।