आज जनादेशको दिन, सिंगोदेश मतदानमा

बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने
निर्धक्क भएर मताधिकार प्रयोग गर्न आयोगको आग्रह
फाल्गुन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
आज जनादेशको दिन, सिंगोदेश मतदानमा

काठमाडौं । आज जनादेशको दिन, सिंगोदेश मतदानमा होमिएको छ । जेनजी विद्रोहले तत्कालीन सरकार र प्रतिनिधिसभा विस्थापित भएको ६ महिनापछि आज मतदान हुँदैछ । मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

निर्धक्क भएर मताधिकार प्रयोग गर्न निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ । निर्वाचनका लागि १ करोड उनानन्बे लाख ३ हजार ६ सय उनानन्बे मतदाता रहेकामा करिब ९ लाख पहिलो पटक मतदानमा सहभागी हुँदैछन् ।

निर्वाचन आयोगले मतदान प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन आम नागरिकलाई अपिल गरेको छ । निर्वाधरूपमा मतदान गर्न पाउने गरी सुरक्षा प्रबन्ध गरिएको आयोगले जनाएको छ । त्यसैगरी आयोगले मतगणना सुरु भएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गरिने पनि बताएको छ । एक मात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा सदरमुकाममा र एकभन्दा बढी क्षेत्र भएका जिल्लामा मुख्य निर्वाचन अधिकृतले दलीय छलफलका आधारमा गणनास्थान निर्धारण गर्ने आयोगले जनाएको हो । आयोगले प्रत्यक्षसँगै समानुपातिकको पनि गणना गरेर नतिजा सार्वजनिक गरिने बताएको छ । आयोगले दुर्गम जिल्लाहरूमा हेलिकोप्टरबाट मतपेटिका संकलन गर्ने जानकारी दिएको छ । यसपटक विशेष परिस्थितिमा निर्वाचन भइरहेकाले मतदाता उत्साहित भएको र मत धेरै खस्ने आयोगको अनुमान छ । यस्तै यसअघिका निर्वाचनको तुलनामा बदर मत पनि घट्ने आयोगको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.