काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगसँगै राजनीतिक दलले पनि तयारी तीव्र बनाएका छन् ।
अंकगणितमा मतभार बढी भएकाले राष्ट्रिय सभामा एक्लै बहुमत बनाउने रणनीतिमा कांग्रेस छ । एमालेले भने यसअघि मिलेर सरकार बनाएको कांग्रेसको साथ खोजेको छ भने नेपाली कम्युनिष्ट पार्टीले पनि धेरै सिट जित्ने दाउमा कांग्रससँगको सहकार्यलाई पहिलो प्राथमिकतामा राखेको छ ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा रिक्त १९ मध्ये १८ पदका लागि निर्वाचन हुँदैछ भने एक जना सरकारको सिफारिसमा मनोनयन हुनेछन् । मधेश प्रदेशबाट चार जना र कोशी र लुम्बिनीबाट तीन-तीन जना निर्वाचित हुनेछन् । त्यसैगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिबाट दुई-दुई जना निर्वाचित हुनेछन् ।
अहिले राष्ट्रिय सभामा कार्यकाल सकिनेमा एमालेका आठ जना र माओवादीका सात जना छन् भने एक जना मनोनितसहित एकीकृत समाजवादी, लोसपा र जसपाका एक-एक सदस्यको कार्यकाल सकिँदैछ । पाँच सय ५० प्रदेश सभा सदस्य र स्थानीय तहका एक हजार पाँच सय ६ प्रमुख र उपप्रमुख मतदाता रहनेछन् । प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहको १९ मतभार कायम गरिएको छ ।
यसपटकको निर्वाचनमा सबैभन्दा बढी फाइदा कांग्रेसलाई हुने देखिएको छ । अहिले राष्ट्रिय सभामा कांग्रेसका १६ सांसद छन् भने कार्यकाल पनि कसैको नसकिने भएकाले निर्वाचनबाट एक्लै बहुमत ल्याउने दाउमा कांग्रेस छ । पाँचवटा प्रदेशमा कांग्रेस अगाडि छ । एक्लाएक्लै निर्वाचनमा जाने हो भने कांग्रेसले सुदूरपश्चिम, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा एक्लै निर्वाचन जित्ने पक्का छ । तर नेकपा र एमाले तालमेल गरे भने कांग्रेसलाई सबै प्रदेशमा जित निकाल्न गाह्रो हुनेछ ।
यसअघि मिलेर सरकार गठन गरेको आधारमा पनि कांग्रेस एमालेसँग सहकार्य गर्न चाहन्छ । तर एमालेसँग तालमेल गर्दा सिट बाँडफाँट गर्नुपर्ने भएकाले अन्य दलसँग पनि कांग्रेसले छलफल अघि बढाएको छ । कोशी प्रदेशमा एमालेको मतभार धेरै छ । यहाँ एक्लै निर्वाचनमा जाने हो भने एमालेले जित निकाल्ने पक्का छ ।
यो प्रदेशमा एमालेका १ सय ५० र कांग्रेसका १ सय ४४ मतदाता छन् । नेकपाको ५५ मात्रै छ । त्यसैगरी सुदूरपश्चिममा कांग्रेसको एक सय चार, एमालेको ६१ र नेकपाको ३६ मत छ । मधेशमा पनि कांग्रेस अगाडि छ । उसको एक सय २४ मत छ । त्यसैगरी एमालेको ८२, जसपा नेपालको ७० र नेकपाको ४५ मत छ ।
एक सय ४५ मतका साथ कांग्रेस बागमतीमा पनि अगाडि छ । यहाँ ९४ मतसहित नेकपा दोस्रो स्थानमा छ भने एमालेको ८७ मत छ । गण्डकीमा पनि कांग्रेस र एमाले प्रतिस्पर्धामा छन् । ९४ मत रहेको कांग्रेस पहिलो छ भने एमाले ९० मतसहित दोस्रोमा छ ।
लुम्बिनीमा पनि कांग्रेस र एमाले नै प्रतिस्पर्धामा रहँदा नेकपा प्रतिस्पर्धामै छैन । यो प्रदेशमा एक सय १९ मत कांग्रेसको हुँदा ९६ मत एमालेको छ । कर्णालीमा कांग्रेसको प्रतिस्पर्धी नेकपा देखिएको छ । ७३ मत कांग्रेसको हुँदा ७१ नेकपाको छ । यो प्रदेशमा स्वतन्त्रले साथ दिँदामात्रै ठूला दललाई सहज हुनेछ । सबै प्रदेशमा बलियो मतभार भएको कांग्रेससँग नेकपा र एमाले दुबैले तालमेल गरेर जान चाहेका छन् ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीको मतभार नै नभएकाले राष्ट्रिय सभा निर्वाचनमा भाग नलिने घोषणा यसअघि नै गरिसकेको छ । जेन-जी युवाहरूले भने आन्दोलनको मर्म र भावनाअनुसार काम गर्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाउन दलहरूलाई ताकेता गरिरहेका छन् ।
हुन त दलहरूले राष्ट्रिय सभा निर्वाचनमा कोसँग सहकार्य गरेर जाने भन्ने निर्णय गरिसकेका छैनन् । तर कांग्रेस एक्लै बहुमत बनाउने दाउमा रहँदा एमाले र नेकपा भने धेरै सिट सुरक्षित बनाउने रणनीतिमा देखिएका छन् । त्यसैले दुबै दलले बलियो मतभार रहेको कांग्रेसको साथ खोजेका छन् ।