
काठमाडौं । नेपाली कांग्रेसमा १५औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग उठेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेमा बसेको कार्यसम्पदान समितिको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने माग राखेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताउनु भयो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले महामन्त्री गगनकुमार थापाले महाधिवेशन र क्रियाशील सदस्यताबारे ब्रिफिङ गरेको बताउनु भयो ।
उहाँकाअनुसार बैठकमा थापाले वडा र क्षेत्रीय अधिवेशन गरेर सिधैं केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव राख्नुभएको थियो । थापाले क्रियाशील सदस्यको काम समयमै नसकिने भएको भन्दै यस्तो प्रस्ताव बैठकमा राखेको प्रवक्ता महतले बताउनु भयो । बैठकमा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभाको निर्वाचन, प्रतिनिधि सभाको समानुपातिकतर्फको उम्मेदवारको सूचीको कार्य अगाडि बढाउनेबारेमा समेत कुरा राखेको बताउनु भयो ।
कार्यसम्पादन समितिको अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने समेत महतले जानकारी दिनुभयो ।