
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाले राजनीतिक दलको कार्यालयमा पुगेर छलफल गर्दै सरकारले सकारात्मक सन्देश दिएको बताउनुभएको छ ।
सरकारद्वारा गठित राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता मनिष झाले यस्तो बताउनुभएको हो । उहाँले विगतमा सरकार खोज्दै सिंहदरबार जानुपर्ने अवस्थाको अन्त्य गर्दै अहिले सरकार नै राजनीतिक दलको कार्यालयमा पुग्नु सकारात्मक रहेको बताउनु भयो । उहाँले यसले राजनीति र निर्वाचनका लागि वातावरण बनाउने बताउनु भयो । उहाँले निर्वाचनको लागि माहोल बनाउने तयारी गरेकोमा सरकारको प्रशंसा गर्नुभयो ।
उहाँले भन्नुभयो,‘सत्ता पक्ष र सरकारलाई भेट्न सिंहदरबार जानु पर्थ्यो । अहिले सरकारले पार्टी कार्यालयमा पुगेर राजनीति, सकारात्मक राजनीति र निर्वाचनको वातावरण बनाउन पहल गरिरहनुभएको छ, त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । निर्वाचनको लागि माहोल बनाउने तयारीको काम सरकारको प्रशंसा गर्नुभएको छ ।’
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनबाहेक अर्को विकल्प नदेखेको बताउनु भयो । उहाँले रास्वपाले एकमत भएर निर्वाचनमा जाने बताएको जानकारी दिनुभयो । सरकारले पनि निर्वाचनको तयारीका लागि आवश्यक काम गरिरहेको जानकारी गराउँदै फागुन २१ गतेको निर्वाचन नै अन्तरिम सरकारको अर्जुनदृष्टि रहेको उहाँले बताउनु भयो । सरकारको तयारी भन्दाअघि नै रास्वपा निर्वाचनमा होमिएको आभाष भएको उहाँले जिकिर गर्नुभयो ।
निर्वाचन नहुने हो कि हाेइन भन्ने शंका नगर्न पनि उहाँले आग्रह गर्नुभयो । इतिहासमै सरकार राजनीतिक दलको कार्यालयमा गएको रेकर्ड नरहेको पनि उहाँकाे भनाय थियाे ।